काठमाडौं । न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबको आयोजनामा मंगलबारदेखि सुरु हुने ‘बागमती प्रदेश न्यु डायमण्ड कप यू-१८ खुला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपमा सात टोलीको सहभागिता रहने भएको छ । फागुन ९ देखि १३ गतेसम्म हुने च्याम्पियनसिपमा आयोजक न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबसहित सात टोलीको सहभागिता रहेको र टोलीलाई दुई समूहमा विभाजन गरिएको क्लबले जनाएको छ ।
समूह ‘क’ मा धादिङ स्पोर्ट्स क्लब धादिङ, एभरेस्ट मावि बुटवल रूपन्देही, दुप्चेश्वर गाउँपालिका नुवाकोट र नमोबुद्ध नगरपालिका काभ्रे रहेका छन् । समूह ‘ख’ मा आयोजक न्यु डायमण्ड, परोपकार आदर्श मावि काठमाडौं र ब्राइट फ्युचर मावि सलकपुर मोरङ रहेका छन् ।
राउण्ड रोबिन लिगपछि हरेक समूहका दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो दिन २ खेल हुनेछन् । दोस्रो दिन तीन तथा तेस्रो दिन चार खेल हुनेछन् । फागुन १२ गते सेमिफाइनल तथा १३ गते फाइनल हुनेछ ।
प्रतियोगिता आयोजना गराउनुको मुख्य उद्देश्य क्लबको निर्माणाधीन खेल मैदान निर्माण सहयोगार्थ रहेको क्लबका अध्यक्ष तथा प्रशिक्षक कुमार राईले बताउनुभयो ।
प्रतियोगिताको अनुमानित बजेट २१ लाख १० हजार रुपैयाँ रहेको छ । पुरस्कारतर्फ मात्रै १० लाख रुपैयाँ खर्च हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ । दोस्रो हुनेले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख र चौथोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
विधागततर्फ सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र ट्रफी र उदीयमान खेलाडीले १५ हजार रुपैया र ट्रफी पाउनेछन् । उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेण्डर र प्रशिक्षकले समान १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता