बागलुङ । कला, संस्कृति र परम्परासँगै खेल क्षेत्रमा पनि बागलुङ अब्बल छ । खासगरी यहाँ भलिबल खेल बढी प्रचलनमा हुँदा बालबालिकादेखि युवाहरू यही खेल नै खेल्दै आएका छन् । चाडपर्व, मेला महोत्सव आयो कि बजारदेखि गाउँसम्म ठूलो-ठूलो पुरस्कार राशिका खेलकुद प्रतियोगिता हुन्छन् ।
खेलप्रति धेरैको चासो र रुचि पनि देखिन्छ । तर, जिल्लाका अधिकांश ठाउँमा उपयुक्त खेल मैदान छैन । भए पनि साँघुरा छन् । त्यस्ता खेल मैदानले दुर्घटनाको जोखिम बढाएका छन् ।
उपयुक्त खेल मैदान नहुँदा पनि खेलाडीहरू उत्पादन भइरहेका छन् । उनीहरू साँघुरा घरको आँगन, बारीको पाटो तथा विद्यालयको प्रांगणमा खेल्दै आएका छन् । खेल खेल्ने पर्याप्त वातावरण नहुँदा कतिले खेल क्षेत्रबाट पनि हात धुनुपरेको छ । त कति विदेशिनुपरेको छ । त्यही साँघुरो बारीमा खेल्दै हुर्किएका दर्जनौँ खेलाडी अहिले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेल खेलिरहेका छन् । उनीहरूले आफ्नो पहिचानलाई थप उचो बनाएका छन् ।
बागलुङबाट रवि केसी, दिल सुनार, सुनिल घर्ती, दुर्गाबहादुर सुनार, सोफया पुनलगायत दर्जनौँ खेलाडीले राष्ट्रियस्तरमा आफ्नो नाम दर्ज गर्न सफल भइसक्नुभएको छ । अहिले पनि उहाँहरूकै पछि-पछि सयौँ बालबालिका तथा युवाहरू भलिबल र फुटबल खेल्दै आएका छन् । खेल मैदान अभावबाट गुज्रिएका सयौँ खेलाडी अहिले पनि माथिल्लो स्तरको खेल कसरी खेल्न सकिन्छ भन्नेमा अन्योल छन् । राम्रो प्रशिक्षक र खेल मैदान नहुँदा राम्रो खेल्ने खेलाडी पनि गाउँमै सीमित बन्नुपरेको भलिबल खेलका अन्तर्राष्ट्रिय खेलाडी दिल सुनारले बताउनुभयो ।
निसीखोला गाउँपालिका–१ का सुनारले विगतमा आफू पाटाको कुना, खोला किनारमा खेल्दै सिकेको स्मरण गर्दै अहिले पनि खेल क्षेत्रको अवस्था निकै दयनीय भएको बताउनुभयो । पछिल्लो समय तीन तहकै सरकारले खेल क्षेत्रको प्रवद्र्धनका लागि बजेट व्यवस्थापन गरे पनि सही ठाउँमा प्रयोग हुन नसकेको सुनार बताउनुहुन्छ । अहिले पनि राज्यको खेलप्रति हेर्ने दृष्टिकोण फेरिन नसकेको उहाँको भनाइ छ । बडिगाडका नवीनकुमार घर्तीले गाउँघरमा खेल धेरै खेल्ने गरे पनि मैदानकै अभाव भोग्नुपरेको सुनाउनु भयो । घर्तीले समथर खेल मैदान नहुँदा काठ, ढुंगामुडामाथि खेल खेल्नुपर्ने स्थिति रहेको गुनासो पोख्नुभयो । ग्रामीण क्षेत्रहरू निकै भिराला र अप्ठ्यारा हुँदा खेल खेल्नसमेत जोखिम रहेको घर्तीको भनाइ छ ।
जिल्लाको बागलुङ नगरपालिका-१ स्थित बाङ्गेचौर-९ को भकुण्डे, काठेखोला गाउँपालिका–७ रेश र तमानखोला गाउँपालिका-३ तमान गाउँमा बाहेक अन्य ठाउँमा पर्याप्त खेल मैदान छैनन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले सरकारले जिल्लाका खेलकुद सम्बद्ध संघसंस्थासँग सहकार्य नगरी बजेट विनियोजन गर्दा सही ठाउँमा प्रयोग हुन नसकेको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘बजेट कहाँ छ ?, कहाँबाट कति आउँछ, यसबारेमा खेलकुद विकास समितिलाई थाहा नै हुँदैन, खेलाडीहरूको धेरै गुनासो खेल मैदानकै भएको हुँदा पछिल्लो समय हामीहरूले यसबारेमा जानकारी लिन थालेका छौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच