काठमाडौं । आगामी जनवरी १६ देखि २८ तारिखसम्म थाइल्याण्डको राजधानी बैंककमा हुन गइरहेको अण्डर २२ पुरुष तथा महिला बक्सिङ प्रतियोगिताका लागि भएको राष्ट्रव्यापी खुला छनोट प्रतियोगितामा महिला ४८ किलो तौल समूहमा जेनेक्सकी तेजीमाया गुरुङलाई अंकका आधारमा पराजित गर्दैै सुष्मा तामाङले युनानिमसका आधारमा विजय गर्नुभएको छ । योसँगै उहाँले छनोट चरण पार गर्नुभयो ।
त्यसैगरी मंगलबार भएको पुरुष ५७ किलो तौल समूहमा केवाइबिसीका निर्मल सुवेदीले नक्सालका आयुश्मान चटौतलाई एबिडीका आधारमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । त्यसैगरी महिला ५७ किलो तौल समूहमा बक्समाण्डुकी हेमा राईले झापाका सुस्मिता राईलाई अंकका आधारमा पराजित गर्दै छनोट चरण पार गर्नुभएको छ ।
त्यसैगरी पुरुष ४८ किलो तौल समूहमा भएको फाइनल खेलमा बक्समाण्डुका लक्ष्मण राई र एचटुओका लालप्रसाद उप्रेतीबीच भएको खेलमा स्पलिट डिसिजनका आधारमा एचटुओका लालप्रसाद उप्रेती छनोट हुनुभयो ।
सदस्य-सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यतामा भएको राष्ट्रव्यापी बक्सिङ छनोटमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, महासचिव सविन भट्टाचार्य, कोषाध्यक्ष गौतम सुजखु, सदस्यहरू मानबहादुर भण्डारी, ओमनारायण श्रेष्ठ, पुष्करराज पन्त, श्यामकाजी अवाले, शोभाकरजंग केसी, तालिम तथा प्रशिक्षण विभागका प्रमुख तथा बक्सिङ मुख्य प्रशिक्षक प्रचण्ड शर्मालगायतको उपस्थिति रहेको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता