काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले ए डिभिजन लिगको आयोजनाबारे कुनै सुरसार नगर्दा राष्ट्रिय टिमका मिडफिल्डर सुजल श्रेष्ठले आक्रोश व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले एन्फा र क्लबमाथि प्रश्न उठाउनुभएको हो । सुजलले घरेलु फुटबल हुने नहुनेमा अनभिज्ञ रहेको बताउँदै खेलाडीलाई खेल्न नदिने उद्देश्य देखिएको जनाउनुभएको छ ।
‘हाल सुन्नमा आयो कि नेपाली घरेलु फुटबल फेरि पनि सर्ने संघारमा रहेको रहेछ । हुन्छ वा हुँदैन त्यसमा पनि हामी अनभिज्ञ छौँ । धन्यवाद तपाईंहरू सम्पूर्णमा हामी खेलाडीहरूका तर्फबाट । ठीकै हो खेलाडीहरूले खेल्न नपाउनु तपाईंहरूको उद्देश्य नै हो भने हामी खुशी हुनु नै पर्छ,’ सुजलले प्रश्न गर्दै लेख्नुभएको छ, ‘तर, एउटा प्रश्नचाहिँ गर्न मन लागेको छ । तपाईंहरूले आफ्नो वाचाअनुसारको रकम नपाउँदा खेललाई समयमा खेल्न नसकिने कुरा सही हुन पनि सक्छ तसर्थ अखिल नेपाल फुटबल संघले आफ्नो वाचालाई यथाशीघ्र निभाउनुपर्छ नै तर प्रश्न यो रहृयो कि एकाध क्लबबाहेक केही क्लबहरूले आफूले खेलाडीहरूरूलाई प्रयोग गरेबापत वाचा र सहमतिअनुसारको पारिश्रमिक समयमा र पूर्ण उपलब्ध गराउनुभएको छ त ? सायद जवाफ सकारात्मक आउँदैन नै होला ।’
एन्फाले शीर्ष डिभिजन लिग पुस १४ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, लिगको तयारीको विषयमा पछिल्लो समय एन्फासँग ‘ए’ डिभिजनका क्लबहरूले असन्तुष्टि जनाएका छन् । लिगको तयारी खर्चबापतको ५० प्रतिशत रकम मंसिर १५ गतेभित्र उपलब्ध गराउने पूर्व सहमति एन्फाले पालना नगरेको क्लबहरूको आरोप छ । एन्फाले लिगको तयारी खर्चबापत ‘ए’ डिभिजन क्लबलाई प्रतिक्लब ३२ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । सो बापतको आधा रकम मंसिर १५ भित्र किस्तामा भुक्तानी गर्ने एन्फा र क्लबबीच सहमति बनेको थियो ।
एन्फाले यसपटक लिगलाई डबल राउण्डमा सञ्चालन गर्ने निर्णय गरेको छ । साथै क्लबलाई तयारीबापतको ३२ लाख ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । तर, पूर्व सहमतिअनुसार एन्फाबाट मंसिर १६ गतेसम्म समेत क्लबले तयारी खर्च नपाएपछि लिगको तयारीका सन्दर्भमा क्लबहरूले असन्तुष्टि जनाएका छन् । यस्तै, सुजलले कठिनाइका बाबजुद नेपाली फुटबललाई टेवा पु¥याउन हातेमालो गर्न आहृवान गर्नुभएको छ ।
‘नेपाली राष्ट्रिय खेलाडीहरूले (उमेर समूहदेखि महिलासम्म) विभिन्न समयमा मिहिनेतपश्चात् राष्ट्रका निम्ति उपाधि जित्दा एन्फाबाट वाचा गरेअनुरूप थुप्रै पुरस्कारहरू आजसम्म पनि उपलब्ध भएको छैन तर पनि हामी समझदारीमा छौँ र नेपाली फुटबलमा बाधक बनेनाँै र जीवनभर कहिल्यै पनि बन्ने छैनौँ । हामीलाई विश्वास छ कि सम्बन्धित निकायले यो कुरालाई गम्भीरतापूर्वक लिने नै छ,’ उहाँले लेख्नुभएको छ, ‘तसर्थ जसरी आजको दिनसम्म हामी खेलाडीहरूले समझदारी गरेर अघि बढिरहेका छौँ, हामी अनुरोध गर्दछौँ कि हामी सम्पूर्ण मिलेर आपसी समझदारी र मिहिनेतमा नेपाली फुटबललाई टेवा पुर्याउन हातेमालो गरौँ । हामी र आउने हरेक पुस्ताले खेल्न पाउने स्वच्छ वातावरण सिर्जना भएको होस् र सम्पूर्ण नेपाली फुटबलप्रेमीहरू र सिंगो राष्ट्रले नै फुटबलद्वारा गर्व गर्ने क्षण मिलेको होस् ।’







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts