काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा वालिङ नगरपालिकाविरुद्ध गोलवर्षा गरेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा एपिएफले वालिङलाई नौ-शून्य गोलले हरायो । एकपक्षीय खेलमा एपिएफको जितमा रश्मीकुमारी घिसिङले चार गोल गर्नुभयो भने गीता राना र सरु लिम्बूले दुई-दुई तथा अनिता केसीले एक गोल गर्नुभएको थियो ।
तीन दिनअघिमात्रै अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग पाँच-शून्यको हार बेहोरेको वालिङले यसपल्ट एपिएफसँग चार गोल बढी खाएको हो । वालिङको लिगमा यो लगातार दोस्रो हार हो । एपिएफको भने यो लगातार दोस्रो जित हो । एपिएफले बागमती युथ क्लबलाई पाँच-एकले पाखा लगाएको थियो ।
खेलको तेस्रो मिनेटमै रश्मीको गोलमार्फत् एपिएफले सुरुवाती अग्रता लिएको थियो । त्यसको दुई मिनेटमै गीता रानाले अर्को गोल थप्नुभयो । वालिङ सम्हालिन नपाउँदै रश्मीले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्नुभयो । १६औँ मिनेटमा वालिङकी डिफेन्डर पुष्पाकुमारी खड्काले आफ्नै पोस्टमा गोल गरेसँगै एपिएफले चार-शून्यको अग्रता लिएको थियो । त्यसको एक मिनेटमै रश्मीले अर्को गोल थप्दै हृयाट्रिक पूरा गर्नुभयो ।
३१औँ मिनेटमा सरु लिम्बू र ४२औँ मिनेटमा गीताले गोल गरेपछि एपिएफले पहिलो हाफमै सात-शून्यको अग्रता लिएको थियो । दोस्रो हाफमा भने वालिङले डिफेन्समा सुधारिएको प्रदर्शन गर्दा एपिएफले दुई गोलभन्दा बढी निकाल्न सकेन । ७७औँ मिनेटमा रश्मी र ९१औँ मिनेटमा अनिता केसीले गोल गर्दै एपिएफलाई सहज र सानदार जित दिलाउनुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता