काठमाडौं । ई-स्पोट्र्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा दोस्रो ई-स्पोट्र्स राष्ट्रिय च्याम्पियनसिप आगामी फागुनको दोस्रो साता हुनेभएको छ । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालसम्मकै धेरै पुरस्कार राशी रहेको ई-स्पोट्र्स च्याम्पियनसिप आगामी फागुन ८ देखि १० गतेसम्म काठमाडौंमा आयोजना हुने जनाएको हो ।
च्याम्पियनसिपमा विभिन्न ६ विधा समावेश गरिएको छ । जसमा ई-फुटबल, मोबाइल लिजेण्ड्स, पब्जी मोबाइल, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ई-स्पोर्टको ६ विधा समावेश गरिएको इशानका अध्यक्ष अञ्जन धमलाले जानकारी दिनुभयो ।
प्रतियोगिताको छनोट चरणका खेलहरू अनलाइनबाट हुनेछ भने अन्तिम चरणको खेलमात्र भौतिक रूपमा काठमाडौंको दशरथ रंगशालमा हुने इशानले जनाएको छ । अन्तिम चरणमा ई फुटबलमा आठ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पब्जीमा १६ टिम, मोबाइल लेजेण्ड्समा दुई, डोटा टू र भ्यालोरेन्टमा पनि चार-चार खेलाडी अन्तिम चरणमा सहभागी हुनेछन् ।
इशानले प्रतियोगिताको म्यानेजमेन्ट र मार्केटिङका लागि सप्लाई अनलिमेटेडकासँगै तीन वर्षको सम्झौता गरेको छ । सम्झौता अनुसार सप्लाई अनलिमेटेडअन्तर्गत रहेको नेपाल प्लेजले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन र बजारीकरण गर्नेछ । नेपाल प्लेजमा एमडी उज्जेनलाल श्रेष्ठले नेपाली ई-स्पोर्ट इतिहासमै यो कोशेढुंगा सावित हुने जिकिर गर्नुभयो ।
निश्चल ब्राण्ड एम्बासडर
कलाकार तथा चलचित्र निर्माता निश्चल बस्नेत दोस्रो ई-स्पोट्र्स च्याम्पियनसिपको ब्राण्ड एम्बासडर नियुक्त हुनुभएको छ । ई–स्पोट्र्स एसोसिएसन अफ नेपाल (इसान)ले शुक्रबार दोस्रो राष्ट्रिय च्याम्पियनसिपको घोषणा कार्यक्रममा निश्चललाई ब्राण्ड एम्बासडरको रूपमा घोषणा गरेको हो ।
निश्चल फिल्म क्षेत्रको चर्चित व्यक्तित्वसँगै ई-स्पोट्र्सका खेलाडीसमेत हुनुहुन्छ । ब्राण्ड एम्बासडर बनेपछि निश्चलले ई-स्पोट्र्स खेलमात्र नभएर राष्ट्रलाई नै प्रतिनिधित्व गर्ने भएकाले यसमा सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । ई-स्पोट्र्सलाई बुझाउन समय लाग्ने भए पनि यो खेलको रूपमा विकास भइरहेको निश्चलको भनाइ थियो ।






