जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सका खेलाडीहरू महोत्तरीमा शनिबार आयोजित ‘ट्रफी परेड’मा सहभागी भएका छन् । मधेश प्रदेशका सबै जिल्लामा विजयोत्सव मनाउने क्रममा शनिबार महोत्तरी आइपुगेको उक्त टोलीलाई मटिहानीका नगरबासीले भव्य स्वागत गरेका थिए ।
मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, जनप्रतिनिधि र नगरबासीले विजेता टोलीको स्वागत गरेका थिए । विजेता टिमका खेलाडीलाई फूलका माला तथा दोसल्ला ओढाएर नगरप्रमुख मण्डलले स्वागत गर्नुभएको थियो । खेलाडीलाई ट्रफीसहित मटिहानी नगर परिक्रमा गराइएको थियो ।
खेलाडीको स्वागतमा मुलुककै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुल) मटिहानीका वटुकले स्वागत गरेका थिए । नगर परिक्रमाका क्रममा गुरुकुल परिसर पुगेका जनकपुर बोल्ट्सका खेलाडीलाई वटुकले वैदिक मन्त्रले स्वस्तिवाचन गरेका थिए ।
मटिहानीको स्वागत ग्रहणपछि टोली शनिबार जलेश्वर नगरपालिकातर्फ अघि बढेको थियो । जलेश्वरका नगरप्रमुख सुरेश साह सोनारले खेलाडीहरूको स्वागत गर्नुभएको थियो । नगरबासीले जनकपुर बोल्ट्सका खेलाडीलाई काँधमा बोकेर खुसी व्यक्त गरेका थिए ।
त्यस अवसरमा नगरप्रमुख सोनारले खेलमार्फत् मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्ने खेलाडीलाई नगरमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । विजयी टोली जलेश्वरबाट एकडारा गाउँपालिका, मनराशिशवा नगरपालिका, सम्सी र सोनमा गाउँपालिकाका विभिन्न बस्तीहरूमा विजयोत्सव मनाउँदै सर्लाहीतर्फ प्रस्थान गर्नेछन् ।
जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरज खतिवडाले आमनागरिकको चासो र आफूहरूले जितमा देखिएको खुसी एवं आत्मीयताबाट आफू्हरूलाई ऊर्जा मिलेको बताउनुभयो ।
जनकपुर बोल्ट्सले एनपिएल जितेको खुसियालीमा मधेश प्रदेशका आठवटै जिल्लामा विजयोत्सव मनाउँदैछ । शुक्रबार धनुषाको जनकपुरधामबाट सुरु भएको ‘ट्रफी परेड’ शनिबार महोत्तरी, सर्लाही र रौतहटमा आयोजना गरिएको हो । टोली आज (आइतबार) बारा र पर्सा, सोमबार सिरहा र सप्तरी पुग्ने तालिका छ ।
पुस ६ गते शनिबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्स च्यापियन्स बन्न सफल भएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता