लण्डन । आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । ब्राजिली फरवार्ड गाब्रियल जेससको उच्च प्रदर्शन प्रेरित खेलमा शनिबार राती लण्डन क्लब आर्सनलले घरेलु टोली क्रिस्टल प्यालेसमाथि ५-१ को सानदार जित निकालेको हो । आर्सनलको जितमा जेससले दुई तथा काई हाभर्टज, ग्राबियल मार्टिनेली र डिक्लन रिसले समान एक/एक गोल गर्नुभयो ।
क्रिस्टल प्यालेसका स्माइल सारले एक गोल फर्काउनुभयो । सेलह्रस्र्ट पार्क लण्डनमा शनिबार राती भएको खेलको छैटौँ मिनेटमा जेससले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । गत महिनादेखि नै चोटमुक्त भएर खेल्न थाल्नुभएका जेससले यसपटक पहिलो रोजाइमा खेल्दै आफू तयार रहेको संकेत दिनुभएको छ ।
तर, आर्सनलको त्यो अग्रता पाँच मिनेट पनि टिकेन । ११औँ मिनेटमा सारले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । त्यसलगत्तै १४औँ मिनेटमा जेससले थोमस पार्टेको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै आर्सनललाई २-१ ले अघि बढाउनुभयो ।
त्यसपछि आर्सनलले थप तीन गोल गर्दै जित सुनिश्चित गरेको हो । ३८औँ मिनेटमा काईले गोल गरेपछि आर्सनलले पहिलो हाफमा ३-१ को अग्रता कायम गरेको थियो । ६०औँ मिनेटमा डिक्लनको पासमा मार्टिनेलीले गोल गरेपछि आर्सनल खेलमा ४-१ ले अघि बढ्यो । त्यसपछि ८४औँ मिनेटमा डिक्लनले गोल गर्दै आर्सनललाई ५-१ को सानदार जित दिलाउनुभयो ।
जितसँगै आर्सनलले शीर्ष टोलीसँगको अंक दूरी छोट्याएको छ । तेस्रो स्थानमा रहेको आर्सनलले शीर्षस्थानमा रहेको लिभरपुल र चेल्सीसँगको अंक दूरी छोट्याएको छ । आर्सनलको १७ खेलबाट ३३ अंक पुगेको छ । दुई खेल कम खेलको लिभरपुलको ३६ तथा एक खेल कम खेलेको चेल्सीको ३४ अंक छ ।
पराजित क्रिस्टल प्यालेस १६ अंक जोडेर १५औँ स्थानमा छ । लिगकै अर्काे खेलमा एलेक्सान्डर इसाकको हृयाट्रिक सहयोगमा न्यु क्यासल युनाइटेडले इस्पिचमाथि ४-० को सहज जित हात पारेको छ । जितले न्यु क्यासल २६ अंक जोडेर सातौँ स्थानमा उक्लिएको छ । इस्पिच १२ अंक जोडेर १८औँ स्थानमा छ । नटिङहम फरेस्टले ब्रेन्टफर्डलाई २–० ले पराजित गर्दा वेस्ट हृयाम र ब्राइटनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । एजेन्सी ।






