गण्डकी । स्टार्टअप व्यवसायमा सक्रिय युवा निशान सापकोटा नेपाल प्रिमियर लिग (एनपिएल) पोखरा एभेन्जर्सले जितोस् भन्ने चाहन्छन् । एकातिर आफ्ना प्रिय खेलाडी कुशल भुर्तेलको कप्तानी, अर्कातिर आफ्नै भूगोलसँग जोडिएको टिम । पहिलोपटक हुन लागेको एनपिएललाई लिएर बागलुङका उनी उत्साहित छन् । “शनिबार हुने उद्घाटन खेलको टिकट लिइसकेको छु, सबै खेल नछुटाइ हेर्ने योजनामा छु”, उनले भने, “मनपर्ने खेलाडीको टिम रहेकाले पोखरा एभेन्जर्स मेरा लागि प्रतियोगिताभर विशेष रहनेछ ।”
सापकोटाझैँ हरेक क्रिकेटप्रेमीको ध्यान यतिखेर एनपिएलतिर छ । देशभित्र मात्र नभएर विदेशमा रहेका क्रिकेटप्रेमी पनि नेपाली क्रिकेटको यो महाकूम्भलाई व्यवग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) आफैँले आयोजना गरेको पहिलो संस्करणको यस प्रतियोगिता सशक्त टिम र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिताका कारण पनि बढी चर्चामा छ । क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति सार्वजनिक चासो बढ्दो छ ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार एनिपिएलको भव्य शुभारम्भ हुनेछ । उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्टबीच हुने जनाइएको छ । आगामी पुस ६ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्यानका प्रवक्ता छुम्बी लामाले बताए । “नेपाली क्रिकेटका लागि एनपिएल आयोजना हुनु ठूलो उपलब्धि हो, देशविदेशका नेपाली र विदेशी क्रिकेटप्रेमीहरूले समेत यो प्रतियोगितालाई चासोपूर्वक लिनुभएको छ”, उनले भने, “क्रिकेटप्रति नेपालीहरूले देखाएको उत्साह र समर्पणले क्यानलाई पनि ऊर्जा थपिएको छ ।”
क्रिकेटप्रेमीहरूको उत्साहलाई निरन्तरता दिन र नेपाली क्रिकेटको विकासका लागि क्यानले अझ धेरै काम गर्न बाँकी रहेको उनले बताए । टिमका विदेशी खेलाडी, म्याच कमेन्टेटरहरू अधिकांश नेपालका रहेको प्रवक्ता लामाले जानकारी दिए । टिमहरूको अभ्यासलगायतका कामसमेत अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।
घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपिएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विश्वकपसहितका उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडी विभिन्न टिमबाट मैदानमा उत्रदैँछन् । हरेक टिममा न्यूनतम चारदेखि अधिकतम छ जनासम्म विदेशी खेलाडी रहने जनाइएको छ ।
एनपिएल गर्भनिङ काउन्सिलले गरेको उक्त निर्णयानुसार कतिपय टोलीका विदेशी खेलाडी नेपाल आइपुगेका छन्भने कति आउने चरणमा रहेको क्यानले जनाएको छ । स्वदेश तथा विदेशका चर्चित खेलाडीको खेल कौशल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकको बाक्लो उपस्थिति रहने निश्चित छ । फ्रेञ्चाइज टिम पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले नेपाल प्रिमियर लिगले नेपाली क्रिकेटको भविष्यको बाटो कोरेको बताए ।
उनले युवा खेलाडी उत्पादन गर्दै व्यावसायिक क्रिकेटलाई अघि बढाउन एनपिएलले महत्त्वपूर्ण योगदान पुग्ने उल्लेख गरे । आफूहरूले व्यावसायिक क्रिकेटको विकास गर्दै क्रिकेटलाई उद्योगका रूपमा विकास गर्न लगानी गरेको अध्यक्ष त्रिपाठीले बताए । चार विदेशी खेलाडी टोलीले अनुबन्ध गरेको र एनपिएलका लागि आफ्नो टोलीले रू १० करोड लगानी गर्ने त्रिपाठीले जानकारी दिए ।
उनले भने, “हामी व्यावसायिक क्रिकेट खेलको विकास होस् भन्ने चाहन्छौँ, नाफा वा घाटाको विषय होइन यो, कुनै पनि व्यवसाय वा उद्योग स्थापित हुन समय लाग्छ, हामी क्रिकेट विकासका लागि आएका हौँ, त्यस मार्गमा अग्रसर हुन चाहन्छौँ ।”, पोखरा एभेन्जर्समा कुशल भुर्तेलको कप्तानी रहनेछ ।







