काठमाडौं । तोरणविक्रम शाही समग्रमा ११-अण्डर २०५ को स्कोरमा सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि शीर्ष स्थानमा कायमै रहन सफल हुनुभएको छ । गोकर्ण गल्फ क्लवमा बुधबार तोरणले ११-अण्डर ७१ स्कोर गर्नुभयो । अन्तिम १८ होलको खेल बाँकी छँदा तोरणले एमेच्योरद्वय सद्भाव आचार्य र राहुल विकेलाई चार स्ट्रोकले पछि पार्दै उपाधि जित्ने सम्भावनालाई बलियो बनाउनुभएको छ । तोरणले ६ होल सकिँदा चार बर्डी प्रहार गरिसक्नुभएको थियो ।
पहिलो, दोस्रो, पाँचौं र छैटौं होलमा एक-एक सट बचाउनुभयो । नवौं होलमा भने दिनको पहिलो बोगी खप्नुभयो । फ्रन्ट नाइन ३-अण्डर ३३ मा पूरा गर्नुभयोे । नवौं होलको बोगीपछि उहाँले लय गुमाउनुभयो । १२औं होलमा एक सट खेर फाल्नुभयो । लगतै १३औं होलमा बर्डी प्रहार गरे पनि १५औं र १६औं होलमा एक-एक सट खेर फाल्नुभयो । जसले गर्दा ब्याक नाइन २-ओभर ३८ मा सकाउन बाध्य हुनुभयो ।
एमेच्योरद्वय सद्भाव आचार्य र राहुल विके समग्रमा ७-अण्डर २०९ को स्कोरमा संयुक्तरुपमा दोस्रो स्थानमा रहनुभयो । गोकर्ण गल्फ क्लवमा बुधबार एमेच्योर तथा डिफेन्डिङ च्याम्पियन सद्भाव आचार्यले दिनको उत्कृष्ट स्कोरकार्ड निकाल्दै उहाँ पाँच स्थानमाथि उक्लिनुभयो । पहिलो, तेस्रो र सातौं होलमा एक-एक सट बचाउँदा फ्रन्ट नाइनमा ३-अण्डर ३३ को नतिजा निकाल्नुभयोे । यसपछि ११औं देखि १४औं होलमा लगातार चार बर्डी प्रहार गर्न सफल रहनुभयो । १५औं होलको बोगीले ब्याक नाइन ३-अण्डर ३३ मा पूरा गर्नुभयो ।
राहुल २-अण्डर ७० को स्कोर दर्ज गर्दै दुई स्थानमाथि उक्लिनुभयो । उहाँले सातौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगी रहित खेल्नुभयो । यसपछि ११औं होलको बोगी विरूद्ध १५औं होलको बर्डीले ब्याक नाइन इभन-पार ३६ मा सकाउनुभयो ।
धरानका प्रो निरज तामाङले १-अन्डर ७१ को स्कोर जोड्नुभयो । समग्रमा ४-अण्डर २१२ सहित चौथो स्थानमा उक्लिनुभयो । दाबेदार नेपाल नम्बर एक भुवन नगरकोटीले ५-ओभर ७७ को खराब प्रदर्शन गर्नुभयोे । यो प्रदर्शनमा उहाँ समग्रमा १-अण्डर २१५ सहित पाँच स्थान तल झर्नुभयोे ।
चार दिनसम्म चल्ने प्रतियोगिताको कुल नगद पुरस्कार आठ लाख ८२ हजार रहेको छ । जहाँ विजेताले एक लाख ५० हजार, तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः एक लाख र ७५ हजार प्राप्त गर्नेछन् ।






