काठमाडौं । प्रतियोगिता सञ्चालन हुन दुई दिनमात्र बाँकी रहेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेटको सम्पूर्ण तयारी पूरा भएको छ । पहिलोपटक आयोजना हुन लागेको यो प्रतियोगिताले खेलप्रेमीबीचमा निकै उत्साह छ । यो प्रतियोगितामा कर्णाली याक्स, काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलको टिकट तीन दिनअघि नै सोल्ट आउट भएको छ । विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच मंसिर १५ गते हुने उद्घाटन खेलको टिकट तीन दिनअघि सोल्ड आउट भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।
‘टियूको कुल क्षमता १२ हजार जति छ । त्यसमा भिआइपी टिकट १२०० रहेकोमा ८०० बिक्री गरिएको छ । नर्मलतर्फ लगभग सबै टिकट सोल्ड आउट नै भइसकेको छ,’ लामाले भन्नुभयो । टियू मैदानमा सिद्धार्थ बैंक जोन पनि छुट्याइएको छ । जुन मुख्य प्रायोजकका लागि हो ।
यसपटक क्यानले टियूमा दर्शकहरूको सुविधाका लागि फ्यान जोन छुट्याएर टिकट बिक्री गरेको थियो । मंसिर १० गते बेलुका ८ बजेबाट क्यानले टिकट बिक्री खुला गरेकोमा तीन दिनमै टिकट सोल्ड आउट भएको हो । मंसिर १५ गतेदेखि सुरु हुने एनपिएलमा आठ टिम सहभागी छन् ।
उपाधि जितेर इतिहास रच्ने दाउमा काठमाडौं
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौं उपत्यकाको प्रतिनिधित्व गरेको ‘काठमाडौं गोर्खाज’ले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य राखेको छ । मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो संस्करणकै उपाधि कब्जा गरेर इतिहास रच्ने काठमाडौंको दाउ छ । काठमाडौं गोर्खाजका मुख्य प्रशिक्षक वसन्त शाही ठकुरीले आफ्नो टोलीले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताउनुभयो । ‘काठमाडौं गोर्खाज प्रतियोगितामा सहभागीमात्र बन्न चाहन्न, उपाधि नै कब्जा गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ,’ उहाँले भन्नुभयो ।
यसअघि भैरहवालगायत स्थानमा अभ्यास खेल खेलेको काठमाडौं गोर्खाजले एनपिएलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । काठमाडौं गोर्खाजले श्रीलंका र बंगलादेशका केही खेलाडीसँग अभ्यास खेल खेलेको उहाँको भनाइ छ ।
अक्सनको समयमा काठमाडौं गोर्खाजलाई कमजोर टोली भनिएको प्रसंग उल्लेख गर्दै प्रशिक्षक शाहीले भन्नुभयो, ‘कतिपयले काठमाडौं गोर्खाजलाई ‘अनलक्की’ टोलीसमेत भन्न भ्याए । अक्सनमा हामीलाई भाग्यले त्यति साथ दिएन । तर पनि नेपाली युवा खेलाडी र विदेशी खेलाडीको साथले हाम्रो टोली सन्तुलित बन्न पुगेको छ ।’
प्रशिक्षक शाही काठमाडौं गोर्खाज बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट रहेको बताउनुहुन्छ । काठमाडौं गोर्खाजका मार्की खेलाडी करण केसी थोरै अस्वस्थ भएकाले उहाँ चिकित्सकको नियमित निगरानीमा रहेको उहाँले बताउनुभयो । ‘उहाँले अलि-अलि अभ्यास गरिरहनुभएको छ, प्रतियोगिताको उद्घाटन खेलअघि पूर्णरूपमा खेल्न सक्नुहुन्छ भन्नेमा विश्वस्त छु,’ प्रशिक्षक शाहीले भन्नुभयो ।
काठमाडौं गोर्खाजले आफ्नो पहिलो खेल चितवन राइनोजसँग मंसिर १७ गते खेल्नेछ । प्रशिक्षक ठकुरी टी-२० क्रिकेटमा कुनै पनि टोलीलाई कमजोर र बलियो भन्न नमिल्ने बताउनुहुन्छ । चितवनविरुद्धको पहिलो खेलमा नै काठमाडौं गोर्खाजले जित निकाल्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । काठमाडौं गोर्खाज काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको छ । करणले सिनियर टोलीबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसक्नुभएको छ । काठमाडौं गोर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसक्नुभएका भीम सार्की र शाहब आलम हुनुहुन्छ । यस्तै यू-१९ बाट खेल्नुभएका दिपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शंकर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी हुनुहुन्छ ।
त्यसैगरी काठमाडौं गोर्खाजले पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इंग्ल्याण्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर रहनुभएको छ । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसक्नुभएका नामिबियाका कप्तान जेरार्डले यसअघि नेपालमा आएर अन्तर्राष्ट्रिय खेल खेलिसक्नुभएको छ । नेदरल्याण्ड्सका माइकलले पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुभएको छ । जेरार्ड र माइकल दुवै ‘एसोसिएट’ देशबाट उत्कृष्ट खेल खेल्ने खेलाडी हुनुहुन्छ ।
इंग्ल्याण्डका नाथन सोटरले पनि घरेलु क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको छ । उहाँले न्यु साउथ वेल्सको यू-२३ टोलीबाट पनि खेल्नुभएको छ । त्यसैगरी क्यारिवियन क्रिकेट लिग, इन्टरनेसनल क्रिकेट लिग टी-२० लगायत विश्वका विभिन्न खेल खेलेको अनुभव उहाँसँग छ । टोलीको ‘आइकोनिक प्लेअर’मा क्रिस कार्की हुनुहुन्छ । काठमाडौं गोर्खाजको एम्बासडरमा नेपाली राष्ट्रिय महिला टोली कप्तान इन्दु बर्मा हुनुहुन्छ ।
काठमाडौं गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले टोलीको ब्यालेन्स राम्रो भएकाले प्रतियोगिताको ट्रफी आफ्नो टोलीले कब्जा गर्ने दाबी गर्नुभयो । उहाँले काठमाडौं गोर्खाजमा युवा खेलाडी धेरै रहनुका साथै राम्रा-राम्रा विदेशी खेलाडी भित्र्याएकाले प्रतियोगिताको उपाधि जित्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको एनपिएल हालसम्मकै सबैभन्दा ठूलो घरेलु प्रतियोगिता हो । प्रतियोगितामा काठमाडौं गोर्खाजसँगै लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोली सहभागी छन् ।
भित्रिए ६ विदेशी कमेन्टेटर
नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर १५ देखि पुस ६ गतेसम्म हुने नेपाल प्रिमियर लिगका लागि ६ विदेशी कमेन्टेटर भित्र्याएकाको छ । क्यानले बुधबार नेपाल प्रिमियर लिगको अफिसियल पेजमार्फत् ६ विदेशी कमेन्टेटरको नाम सार्वजनिक गरेको छ ।
अमेरिकाका एन्ड्रयु लेनर्ड नेपाल क्रिकेटका चर्चित कमेन्टेटर हुनुहुन्छ । उहाँले नेपालका अधिकांश खेलहरूमा कमेन्ट्री गर्दै आउनुभएको छ । एन्ड्रयुसहित एचडी अकरम्यान, ड्यारेन गौफ, श्रीधरण श्रीराम, मोनाली पटेल र मिखाइल वासवानीलाई क्यानले कमेन्ट्रीका लागि भिœयाएको हो ।
अकरम्यान दक्षिण अफ्रिकाका पूर्वक्रिकेट खेलाडी हुनुहुन्छ । उहाँले दक्षिण अफ्रिकाबाट सन् १९९८ मा टेस्ट क्रिकेट खेल्नुभएको थियो । अकरम्यानले क्रिकेट करियरपछि कमेन्टेटरका रूपमा काम गरिरहनुभएको छ ।
ड्यारेन इंग्ल्याण्डका पूर्वक्रिकेटर हुनुहुन्छ । उहाँले इंग्ल्याण्डबाट टेस्ट, ओडिआई र टी-२० आई खेल खेल्नुभएको छ । उहाँले १५९ ओडिआईमा २३५ विकेट लिनुभएको छ ।
भारतका श्रीधरणले पनि अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुभएको थियो । उहाँले सन् २००० देखि २००४ सम्म भारतबाट खेल्नुभएको थियो । मोनाली क्यानडाकी पूर्वक्रिकेटर हुनुहुन्छ । उहाँले सन् २०१९ मा क्यानडाबाट दुई टी-२० आई खेल खेल्नुभएको थियो । मिखाइल भारतका पत्रकार तथा कमेन्टेटर हुनुहुन्छ ।
जनकपुर बोल्ट्सले एनपिएल जिते प्रत्येक खेलाडीलाई एक लाख दिने डिएनए इन्टरनेसनलको घोषणा
डिएनए इन्टरनेसनल नेपालले नेपाल प्रिमियर लिग (एनपिएल) उपाधि जनकपुर बोल्ट्सले जिते प्रत्येक खेलाडीलाई एक लाख दिने घोषणा गरेको छ । जनकपुरको मुख्य प्रायोजकका रूपमा रहेको डिएनए इन्टरनेसनलले उक्त घोषणा गरेको हो ।
यस्तै जनकपुर फाइनलमा पुगे प्रत्येक खेलाडीलाई ५० हजारका दरले प्रदान गर्ने डिएनए इन्टरनेसनलले जनाएको छ । डिएनए इन्टरनेसनल नेपाल मुख्य प्रायोजकका रूपमा जनकपुरसँग जोडिएको हो । ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको जनकपुरको मार्की खेलाडी आसिफ शेख हुनुहुन्छ ।
एनपिएल जिते ३० लाख पुरस्कार दिने कोशीका मुख्यमन्त्रीको घोषणा
कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपिएलको उपाधि जितेमा ३० लाख दिने घोषणा गरेको छ । विराटनगर किङ्सका खेलाडीलाई मंगलबार राती बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा ३० लाख पुरस्कार दिने घोषणा गर्नुभयो ।
नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग एनपिएलका लागि कोशी प्रदेशबाट विराटनगर किङ्सले सहभागिता जनाउँदै छ ।
मुख्यमन्त्री कार्कीले टोलीलाई जितको शुभकामना दिनुभयो । बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताउँदै क्रिकेटबाट राष्ट्रिय मात्र हैन अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिने उल्लेख गर्नुभयो ।
‘खेलकुद क्षेत्रमा प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सहयोग गर्न सरकार तयार रहेको छ,’ मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘आगामी दिनमा खेलकुदको विकासका लागि थप योजनाहरू अघि सारिनेछ ।’ विराटनगर किङ्सका मुख्य प्रशिक्षक केभिन ओ ब्रायनले नेपाल प्रिमियर लिगमा आक्रामक खेलको प्रस्तुति दिने बताउनुभयो ।
सुदूरपश्चिम र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता भएको छ । माया मेट्रो र रोयल्सबीच मेडिकल पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले हस्ताक्षर गर्नुभयो ।
सुदूरपश्चिम रोयल्सले यसअघि एसपिएललाई एजुकेसन पार्टनर, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरका रूपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य गर्ने सम्झौता पनि गरिसकेको छ ।
राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहनुभएको सुदूरपश्चिमको मुख्य प्रशिक्षकमा जगत् टमाटा हुनुहुन्छ । यसैगरी टोलीले अस्ट्रेलियाका ब्राड हजलाई मेन्टरका रूपमा नियुक्त गरेको छ ।






