काठमाडौं । नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मालाई अन्तर्राष्ट्रिय हक्की महासंघले एफआइएच प्रेसिडेन्ट अवार्डद्वारा सम्मानित गरेको छ । ओमानको मस्कटमा आयोजित अन्तर्राष्ट्रिय हक्की महासंघ (एफआइएच) ४९ औँ महासभामा उहाँलाई सो अवार्ड दिइएको हो ।
महासंघले स्थापनाको शतवार्षिकी उत्सवसँगै महासभा आयोजना गरिरहेको छ । महासभामा नेपाल हक्की संघका अध्यक्ष शर्मा र महासचिव सुवर्ण श्रेष्ठले सहभागिता जनाउनुभएको छ । अध्यक्ष शर्माले हक्कीको विकासमा गरेको उत्कृष्ट प्रतिबद्धताका लागि सो अवार्ड दिइएको हो ।
शर्मा भूतपूर्व हक्की खेलाडीसमेत हुनुहुन्छ । उहाँले स्कुल पढ्दादेखि नै हक्की खेल्दै आउनुभएको थियो । उहाँले पछि अम्पायर र हक्कीका लागि प्राविधिक अधिकारी बन्न प्रशिक्षण प्राप्त गर्नुभएको थियो ।
नेपाल हक्की संघमा विभिन्न पदमा रहँदै सन् १९९८ देखि २०१६ सम्म महासचिवको भूमिका निर्वाह गर्नुभएका शर्मा सन् २०१६ मा नेपाल हक्की संघको महासभामा वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । सन् २०२३ मा उहाँ राष्ट्रिय संघको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
अन्तर्राष्ट्रियतर्फ उहाँ सन् २०१८ देखि २०२२ सम्म एसियाली हक्की महासंघको सदस्य हुनुभएको थियो । सन् २०२२ मा भएको एसियन हक्की महासंघको महासभामा उहाँ बोर्डको सल्लाहकारमा निर्वाचित हुनुभएको थियो ।






