पेरिस । म्यानचेस्टर सिटीले आफ्नो खराब प्रदर्शन जारी गरेको छ । सिटीले यसपल्ट सबै प्रतियोगितामा लगातार हार बेहोरिरहेको छ । हारको शृंखला शनिबार पनि कायम रहृयो । इंग्लिस प्रिमियर लिगअन्तर्गत ब्राइटनविरुद्धको खेलमा सिटी २-१ ले पराजित भएको हो । योसँगै सिटी लिभरपुलभन्दा पाँच अंकले पछाडि परेको छ ।
लगातारको हारले पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको डिफेन्डिङ च्याम्पियनमाथि संकटको बादल मडारिरहेको छ । ग्वार्डिओला विश्वको उत्कृष्ट प्रशिक्षक मानिनुहुन्छ । सन् २००७ मा उहाँले प्रशिक्षण करिअर सुरु गर्नुभएको थियो । तर, आफ्नो उत्कृष्ट करिअरमा यसअघि उहाँले कहीँ पनि लगातार चार खेलमा हार बेहोर्नुपरेको थिएन । दोस्रो स्थानमा रहेको सिटीले सन् २००६ पछि लगातार चार खेलमा हार बेहोर्नुपरेको हो ।
उहाँको सबैभन्दा खराब नतिजा भनेकै २०१४/२०१५ सिजनमा हो । उक्त सिजन उहाँको प्रशिक्षणमा रहेको बायर्न म्युनिख जर्मन कपमा पेनाल्टी सुटआउटमा पराजित भएको थियो । त्यसपछि बायर्नले बुन्डेस लिगामा लगातार दुई खेलमा पराजय बेहोरेको थियो । यस वर्षको बालोन डी’ओर विजेता तथा स्टार सेन्टर मिडफिल्डर रोड्री एसिएल चोटका कारण मैदानबाहिर हुनुहुन्छ ।
मंगलबार च्याम्पियन्स लिगमा स्पोर्टिङमा ४-१ ले हारेको सिटीले दोस्रो हाफमा आफ्नो स्तर कायम राख्न सकेको थिएन । सिटीको हारको दौड गत हप्ता इङ्लिस लिग कपबाट सुरु भएको हो । टोटनहृयामविरुद्धको खेलमा सिटी २-१ ले पराजित भएको थियो । त्यसपछि सिटी बोर्न माउथसँग पनि सोही स्कोरले पराजित हुन पुग्यो । यो लिगमा सिटीको ११ महिनापछि पहिलो हार थियो ।
सिटीले लगातार हार बेहोरिरहँदा लिभरपुलले नयाँ प्रशिक्षक अर्ने स्लटको नेतृत्वमा लिगका ११ मध्ये नौ खेलमा जित निकालेको छ । डार्विन नुनेज र मोहमद सलाहको गोलको मद्दतमा लिभरपुलले शनिबार राती घरेलु मैदानमा एस्टन भिल्लामाथि २-० को नतिजा निकालेको हो ।
नुनेजले २०औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाउनुभयो । लिभरपुलका गोलकिपर काओइमिन केलेहरले केही महत्वपूर्ण बचाउ गर्दै टोलीको उक्त अग्रता बचाउनुभएको थियो । सलाहले ८४औँ मिनेटमा अर्को गोल गर्दै लिभरपुललाई सहज जित दिलाउनुभयो । जुर्गेन क्लोपको स्थानमा नेदरल्याण्ड्सका पूर्वखेलाडी स्लट लिभरपुल सम्हाल्न आउनुभएको थियो । ‘क्लोज’ सिजनमा जिम्मेवारी सम्हाल्नुभएका उहाँले सबै प्रतियोगिताका १७ मध्ये १५ खेलमा जित दिलाउनुभएको छ । इङ्लिस प्रिमियर लिगमै पनि लिभरपुलले ११ खेलबाट २८ अंक पु¥याएको छ । यो साबिक विजेता सिटीभन्दा पाँच अंक बढी हो । भिल्लाको भने यो सिजन तेस्रो हार हो । १८ अंक जोडेको भिल्ला आठौँ स्थानमा झरेको छ । एजेन्सी ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts