म्यानचेस्टर । च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले स्पार्टा प्रागविरुद्ध सानदार जित दर्ता गरेको छ । सिटीले स्पार्टा प्रागलाई ५-० ले हराउँदै लगातार २६ खेलसम्म अपराजित रहने ऐतिहासिक कीर्तिमान बनाएको छ । यस जितसँगै सिटीले युरोपियन कप/च्याम्पियन्स लिगमा सबैभन्दा लामो अपराजित यात्रा तय गरेको छ ।
खेलको सुरुवातमै फिल फोडेनले तेस्रो मिनेटमा गोल गर्दै सिटीलाई अगाडि बढाउनुभएको थियो । उहाँले म्यानुअल अकान्जीको पासलाई कुशलतापूर्वक नियन्त्रण गर्दै स्पार्टा प्रागका डिफेन्डरहरूलाई छक्याउँदै बललाई बायाँबाट प्रहार गर्नुभएको थियो । पहिलो हाफको अन्त्यसम्म १-० को अग्रता बनाइरहेको सिटीले दोस्रो हाफमा गोल वर्षा गर्दै खेललाई पूर्णरूपमा आफ्नो नियन्त्रणमा लिएको थियो ।
५८औँ मिनेटमा एर्लिङ हलाण्डले अद्भूत फ्लिक किकमार्फत् सिटीका लागि दोस्रो गोल गर्नुभयो । साभिन्होले दायाँ विंगबाट दिएको क्रसलाई हलाण्डले हावामा उल्टो फ्लिक गर्दै स्पार्टा प्रागका गोलकिपर पिटर विन्डहाललाई छक्याउँदै गोल गर्नुभएको थियो । ६४औँ मिनेटमा जोन स्टोन्सले माटेउस नुन्सको क्रसलाई हेडरमार्फत् गोल गर्दै सिटीको अग्रता ३-० मा पुर्याउनुभयो । ६८औँ मिनेटमा हलाण्डले दोस्रो गोल गर्दै आफ्नो खेलमा दोस्रो गोल दर्ता गर्नुभयो । नुन्सले दिएको पासलाई हलाण्डले गोलकिपरलाई छक्याउँदै सजिलैसँग गोल गर्नुभयो ।
८८औँ मिनेटमा माटेउस नुन्सले पेनाल्टीबाट सिटीका लागि पाँचौँ गोल गर्दै खेलको नतिजा सुनिश्चित गर्नुभयो । उहाँलाई स्पार्टाका खेलाडी प्रेसीडोले फउल गरेका कारण सिटीले पेनाल्टी पाएको थियो । नुन्सले किपरलाई गलत दिशामा पठाउँदै गोल गर्नुभयो । सिटीले तीन खेलमा सात अंक बनाएर च्याम्पियन्स लिग तालिकाको तेस्रो स्थानमा छ ।
लिगकै अर्को खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले बुधबार राती समूह चरणको खेलमा जर्मनीको लिपजिगलाई १–० ले पराजित गरेको हो । यो जितले लिभरपुललाई समूहमा नौ अंक जोड्दै लगभग अर्को चरणमा पुर्याएको छ । डार्विन नुनेजले खेलको एकमात्र गोल गर्दै लिभरपुललाई जित दिलाउनुभयो ।
२७औँ मिनेटमा नुनेजले मोहमद सलाहको हेडरलाई गोल लाइनबाट टच गर्दै जाली चुमाउनुभएको थियो । खेलमा लिभरपुलले केही महत्वपूर्ण अवसरहरू खेर फाले पनि गोलरक्षक काओमिन केलेहरको उत्कृष्ट प्रदर्शनले टोलीलाई तीन अंक सुनिश्चित गरेको हो । लिपजिगले पहिलो हाफमा राम्रो दबाब दिएको थियो । जावी सिमन्स र बेन्जामिन सेस्कोले गोल गर्ने अवसर पाए पनि उहाँहरूले गोल गर्न सक्नुभएन ।
लिभरपुलले दोस्रो हाफमा खेल आफ्नो नियन्त्रणमा लिँदै थप आक्रमण गरेको थियो । खेलको अन्त्यसम्म लिपजिगले बराबरीको प्रयास गरे पनि अफसाइडका कारण गोल मान्य भएन । अब लिभरपुलले आइतबार आर्सनलसँग प्रिमियर लिगमा प्रतिस्पर्धा गर्नेछ ।
यसैगरी, लिगमा इन्टर मिलान विजयी भएको छ । स्विस क्लब योङ ब्वाइजलाई १-० गोल अन्तरले पराजित गरेको हो । बर्नस्थित स्टाडियन वान्कडर्फमा भएको खेलमा इन्टर मिलानले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै जित हात पारेको हो । इटालियन क्लबका सब्स्टिच्युट मार्कस थुरामले इन्ज्योरी समयको तेस्रो मिनेटमा फेडेरिको डिमार्कोको क्रसमा गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाउनुभयो ।
खेलको अधिकांश समय यंग ब्वाइजले अवसरहरू सिर्जना गरे पनि गोल गर्न सकेन । मोन्टेरियोले पोस्टमा प्रहार गर्दा गोल हुन सकेन भने इन्टरका मार्को अर्नाटोभिचले पेनाल्टीबाट गोल गर्न चुक्नुभएको थियो । इन्टर मिलान सात अंकसहित तालिकाको सातौँ स्थानमा छ ।
लिगकै अर्को खेलमा राफिन्हाको हृयाट्रिकसँगै बार्सिलोनाले बायर्न म्युनिखमाथि प्रभावशाली जित हात पारेको छ । बुधबार राती घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ४-१ ले विजयी भएको हो । बार्सिलोनाको यो दोस्रो जित हो । जितसँगै १०औँ स्थानमा उक्लिएको बार्सिलोनाले तीन खेलबाट ६ अंक पुर्याएको छ । समान खेल खेलेको बायर्न तीन अंकसहित २३औँ स्थानमा छ ।
खेलको पहिलो मिनेटमै राफिन्हाको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । उहाँले फर्मिन लोपेजको क्रसलाई सदुपयोग गर्नुभयो । १०औँ मिनेटमा हृयारी केनको गोललाई भिएआरले मान्यता नदिँदा बायर्न खेलमा फर्किन सकेन । तर, त्यसको आठ मिनेटपछि नै उहाँले नै बायर्नलाई खेलमा फर्काउनुभयो । २७औँ मिनेटमा लोपेजको क्रसमा रोबर्ट लेवान्डोस्कीले गोल गरेसँगै बार्सिलोना पुनः अग्रता लिन सफल भएको थियो । पहिलो हाफको अन्त्यतिर राफिन्हाले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्नुभयो ।






