✍️ शुरज थपलिया
देशलाई नै दशा लागेपछि
असोजको अन्तिममा आयो
बाढी र पहिरो
दशैँमा रमाउन ठिक्क परेकाहरूको
ओठमा खुशी सजिन नपाउँदै
लिएर आयो आँसुको भेल ।
हिँड्दै गरेका मान्छे,
गुड्दै गरेका बस,
सुतिरहेका बच्चा र वृद्घले
ऐया भन्नसमेत पाएनन्,
न त पाए एक घुड्की पानी खान
दैवको आँखा लागेपछि
खुशीका प्वाँख पलाउन नपाउँदै
च्वाटै काटिदारैछन् ।
गत साल जस्तो, रंगीचंगी भएर आएन दशैँ
लगातारको झरीसँगै आयो
बगायो सडक र पुल
डुबायो बस्ती
गुहार माग्दामाग्दै, भेलमा बगे मान्छे
चङ्गाचेट जस्तै, आकाशमा किरिमिरि आए हेलिकप्टर
अनि, ओसारे बिरामी र शवजरू ।
बस्ती उजाड बनाएर प्रकृतिले
शवको चाङ बनाएको छ
अन्तिम संस्कार गर्ने,
मान्छेसमेत बाँकी राखेन
भएका आफन्त परदेशमा हुँदा
घर देश एक्लो एक्लो भएको छ ।
शवले आफन्त कुर्दाकुर्दै
कफनजरू उध्रिन थालिसकेका छन् ।
गाउँ र खेतको नामो निशान छैन
छैन सजाइएका सुन्दर घरहरू,
लहलह धान झुल्नुपर्ने खेत
आफैँ डुबिरहहेको छ, लाचार बनेर
मान्छे, बस्ती र खेत बगाएपछि
ङिच्च हाँस्दै ढोकैमा आएको छ दशैँ ।
हाम्रो हजुरबुबा पहिरोमा पुरिए
काकाबाको गाडीमाथि खस्यो पहिरो,
दिदी पनि बाटोमा हिड्दा हिँड्दै
बगिन बागमतीमा
तीनै जनाले अन्तिम क्षणमा एक मुठ्ठी पानीसमेत
खान पाएनन्
दैव लागेपछि, कसले पो के टार्न सक्दो रहेछ र ?
बागमती , सुनकोशी र त्रिशुलीहरू
रौद्र रूपमा देखिए,
चुपचाप शालिन हुने नदी र खोल्साहरू
रिसाएर पसे बस्ती बस्ती
लडे आफ्नै अस्तित्वको लडाइँ
अनि डुबाए, बगाए, बस्ती र मान्छे,
सबै सबैलाई,
एकै चिहान बनाएर ठिङ उभिएको छ दशैँ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा