एजेन्सी । स्पेन तथा बार्सिलोनाका लेजेण्ड आन्द्रेस इनेस्टाले फुटबल खेल करियरबाट सन्न्यास लिनुभएको छ । ४० वर्षीय इनेस्टाले मंगलबार सन्न्यासको घोषणा गर्नुभएको हो । इनेस्टा इतिहासकै उत्कृष्ट खेलाडीका रूपमा चिनिनुहुन्छ । विशेषगरी स्पेनको राष्ट्रिय टिम र बार्सिलोनामा जाभी हर्नान्डेज, सर्जियो बुस्केटसँगै इनेस्टाको मिडफिल्ड पार्टनरसिप गज्जवको थियो ।
बार्सिलोनामा पत्रकार सम्मेलनमा सन्न्यास घोषणा गर्दा इनेस्टा निकै भावुक बन्नुभएको थियो । उहाँले अब आफू प्रशिक्षणमा लाग्ने योजनामा रहेको बताउनुभयो । ‘पिचमा रहने समय सकियो,’ इनेस्टाले भन्नुभयो ‘म फुटबलबाट टाढा रहन सक्दिन र यो मेरो जीवन हो र यसलाई अझै निरन्तरता दिनेछु ।’
स्पेनका लागि १३१ खेल खेल्नुभएका इनेस्टाले सन् २०१० को फिफा विश्वकप फाइनलमा नेदरल्याण्ड्सविरुद्ध निर्णायक गोल गर्नुभएको थियो । यस्तै सन् २००८ र २०१२ मा लगातार युरोकप जित्नुभएको थियो ।
बार्सिलोनाको ला मासिया एकेडेमीका उत्पादन इनेस्टाले आफ्नो २२ वर्षीय करियरमा अधिकांश समय बार्सिलोनामा बिताउनुभएको थियो । सन् २००२ मा सिनियर टिममा डेब्यु गर्नुभएका उहाँले २९ उपाधि जित्नुभएको थियो । जसमा नौ स्पेनिस ला लिगा र चार च्याम्पियन्स लिग ट्रफीसमेत सामेल छ । इनेस्टा सन् २०१८ मा जापानिज क्लब भिसेल कोबमा अनुबन्ध हुनुभएको थियो । यस्तै २०२३ मा युएईको प्रो लिग क्लब एमिरेट्समा अनुबन्ध हुनुभएको थियो ।






