काठमाडौं । आइसिसी विश्वकप लिग-२ मा खराब प्रदर्शन गरेको नेपाली क्रिकेट टोली टी-२० आईमा पनि पराजित भएको छ । टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमै नेपाल क्यानडासँग पराजित भएको हो ।
शनिबार राती सम्पन्न खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो । क्यानडाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनमात्रै बनाउन सक्यो ।
कप्तान रोहितले सर्वाधिक ३७ रन बनाउनुभयो । ३९ बल खेल्नुभएका उहाँले समान दुई चौका र छक्का प्रहार गर्नुभयो । कुशल मल्ल १२, देव खनाल ११ र सन्दीप लामिछाने १० रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
क्यानडाका कलिम सानाले सर्वाधिक चार विकेट लिनुभयो । साद बिन जाफरले तीन र प्रविण कुमार र अखिल कुमारले समान एक विकेट दिनुभयो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२३ रनको योगफल तयार पारेको थियो । क्यानडाका लागि साद बिन जफरले २३, श्रेयस मोव्वाले २२, प्रविन कुमारले १९, अखिल कुमारले अविजित १४, दिलप्रित बाज्बाले १४ र नवनित धलिवालले १३ रन बनाउनुभयो ।
नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान तीन तथा रिजन ढकाल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिनुभयो । यसअघि क्यानडामै भएको विश्वकप लिग–२ को एकदिवसीय खेलमा नेपालले खराब प्रदर्शन गरेको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता