स्पेन । स्पेनिस ला लिगामा मालोर्काले रियल बेटिसमाथि रोमाञ्चक जित हासिल गरेको छ । सातौँ खेलमा तेस्रो जित निकाल्नेक्रममा मालोर्काले बेटिसमाथि २-१ को जित निकालेको हो । बेटिसको घरेलु मैदानमा भ्रमणकारी टोलीलाई जिताउन डानी रोड्रिगुइज र भालेरी फर्नान्डेजले गोल गर्नुभयो । घरेलु टोलीका लागि जिओभानी लो सेल्सोले १ गोल गर्नुभएको थियो ।
खेलमा अग्रता भने बेटिसले लिएको थियो । खेलको सातौँ मिनेटमा जिओभानीले घरेलु टोलीलाई अग्रता दिलाउनुभएको थियो । १ मिनेटपछि नै मालोर्काका रोड्रिगुइजले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । मालोर्काका लागि इन्जुरी समयमा फर्नान्डेजले विजयी गोल गर्नुभएको थियो । जितपछि मालोर्का सात खेलबाट ११ अंकसहित पाँचौँ स्थानमा छ । पराजित बेटिसले ६ खेलमा आठ अंक जोडेको छ भने ११औँ स्थानमा छ । एजेन्सी ।






