काठमाडौं । सुदूरपश्चिम तथा कर्णालीको भाषा, साहित्य, संस्कृति, खेल तथा पत्रकारितामार्फत योगदान पुर्याउने विभिन्न व्यक्तित्व सम्मानित भएका छन् । सांस्कृतिक समाज नेपालद्वारा काठमाडौमा आयोजित दोस्रो संकरणको स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक उत्सव उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडलले विभिन्न व्यक्तित्वहरूलाई सम्मान प्रदान गर्नुभएको हो ।
साहित्यतर्फ सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, चलचित्र क्षेत्रतर्फ विराज भट्ट, खेलकुदतर्फ दीपक विष्ट, लाइभ देउडातर्फ नेत्रराज शाही, पर्दापछाडिका नायकका रूपमा निर्देशक भीम थापा, पत्रकारिता क्षेत्रबाट वसन्तप्रताप सिंह, गायन क्षेत्रबाट सुदूरपश्चिमका लालबहादुर धामी, कर्णालीका टीका पुन र सुरेश शाही सम्मानित हुनुभएको हो ।
राष्ट्रपति पौडेलले समाजद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रम पनि अवलोकन गर्नुभएको थियो । आयोजक संस्थाका अध्यक्ष रामप्रसाद अवस्थीका अनुसार कार्यक्रममा राना-थारूको संस्कृति झल्किने प्रस्तुतिसमेत राखिएको थियो । अछामी बड्डोे र टीका पुनले ‘आइगयो अछामी बढ्डो’ गीत गाउँदा गृहमन्त्री रमेश लेखक, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदरप्रसाद भण्डारी पनि देउडामा रमाउनुभएको थियो ।
अघिल्लो वर्ष पनि भदौ महिनामै हालका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, साहित्यकार आर.डी.प्रभाष चटौत, रामानन्द आचार्य, गायक नन्दकृष्ण जोशी, कलाकार मिथिला शर्मा, यज्ञराज उपाध्याय, डिग्रा देवी बादी र संगीता रोकायलगायतलाई अभिनन्दन गरिएको थियो ।






