काठमाडौं । नेपाली रक ब्यान्ड झिल्के एण्ड दि कम्पनी (जेएटिसी) ले सन् २०२२ को एलबम ‘जवानीको जोशको’ हिट गीत ‘कान्छी तिम्रो नराम्रो बानी’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ । गीतमा व्याण्डका प्रमुख गायक तथा गिटारवादक स्टिभ देवानको शब्द र संगीत छ ।
पोजिटिभ भाईब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क)द्वारा निर्मित म्युजिक भिडियोको छायांकन भारतको दार्जिलिङमा गरिएको छ । भिडियोमा ब्याण्डका सदस्य स्टिभ, दिप्सन र विशाल साथै भारतीय अभिनेत्री संस्कृति थामी फिचर्ड हुनुहुन्छ ।
गायक स्टिभले छोटो समयावधिमा गीतको छायांकन गर्नु आफूहरूका लागि चुनौति भएको बताउनुभयो । ‘पाँच दिनभित्र सबै कुराको योजना बनाउनु र सुटिङ गर्नु हाम्रो लागि सबैभन्दा ठूलो चुनौती थियो तर दार्जिलिङका स्थानीय, हाम्रो टोली, परिवारको माया र समर्थनले सबै चुनौती पार गर्दै भिडियो तयार पार्यौ’, स्टिभले भन्नुभयोे ।
व्याण्डका बासिस्ट विशाल हाङ राईले भिडियो रिलिज गर्न पाउँदा आफूहरू उत्साहित रहेको बताउँदै फ्यानले गीत मनपराइदिएकोमा आभार व्यक्त गर्नुभयो । त्यस्तै ड्रमर दिप्सन केसीले अघिल्लो गीत ‘१८२’ जस्तै ‘कान्छी तिम्रो नराम्रो बानी’ले पनि त्यस्तै माया पाउनेमा आफूहरू ढुक्क रहेको सुनाउनुभयो ।
गीतको अडियोलाई रोहिताज गुरुङले साउण्ड फ्युजन स्टुडियोमा रिमास्टर गर्नुभएको छ । एलबम ब्रोकेन एग स्टुडियोमा रेकर्ड, मिक्स र मास्टर गरिएको हो । झिल्के एण्ड दि कम्पनी सन् २०१९ मा स्थापना भएको व्याण्ड हो । यसमा स्टिभ देवान (भोकल र गितार), दिप्सन केसी (ड्रम) र विशाल हाङ राई (बास) हुनुहुन्छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता