काठमाडौं । जर्मनीको बुण्डेसलिगामा बायर्न म्युनिखले विजयी सुरुवात गरेको छ । आइतबार राति सम्पन्न खेलमा बायर्न म्युनिखले २–१ ले पछि परेको अवस्थामा कमब्याक गर्दै वोल्फ्सबर्गविरुद्ध ३–२ को जित हासिल गरेको हो ।
बायर्न म्युनिखको जितमा जमाल मुसियाला र सेर्गे ग्नाब्रीले एक एक गोल गरेका थिए भए एक गोल वोल्फ्सबर्गका जाकुब कामिन्स्कीले आत्मघाती गोल गरेका थिए । त्यस्तै वोल्फ्सबर्गका लागि लोभ्रो माजेरले दुई गोल गरेका थिए ।
यो जितपछि बायर्न म्युनिखले महत्वपूर्ण ३ अंक हासिल गरेको छ र नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।
वोल्भ्समाथि चेल्सी शानदार जित
इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले वोल्भ्सविरुद्ध शानदार जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा चेल्सीले वोल्भ्सलाई ६–२ गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा नोनी माडुएकेले ह्याट्रिक गरेका थिए भने निकोलस ज्याक्सन, कोल पाल्मर र जोआओ फेलिक्सले एक एक गोल गरेका थिए । एटलेटिको म्याड्रिडबाट चेल्सीमा परमानेन्ट रुपमा आएपछि खेलेको पहिलो खेलमा फेलिक्सले गोल गर्दै आफ्नो शानदार शुरुवात गरेका छन् ।
त्यस्तै वोल्भ्सका लागि माथेउस चुन्हा र जोर्गेन लार्सेनले एक एक गोल गरेका थिए । यो जितपछि यस सिजनको पहिलो खेलमा हार बेहोरेको चेल्सीको २ खेलमा ३ अंक भएको छ भने वोल्भ्सले लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।







