काठमाडौं । अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसको अवसरमा भ्वाइसेज अफ विमेन मिडियाले ‘अ सिम्फोनी अफ साइलेन्ट स्टोरी’ नामक कृति विमोचन गरेको छ । यो ‘सी इज द स्टोरी’ कार्यक्रम अन्तर्गत सञ्चालन भएको एक महिने फोटोग्राफी कार्यशालाबाट १३ जना महिला फोटोग्राफरले खिचेका उत्कृष्ट फोटो कथाहरूको संग्रह हो ।
कार्यशालामा मदिना राई, लक्ष्मी न्यौपाने, शिभाषा केसी, प्रियंका तुलाचन, पुष्पा जोशी, नीति वानेम, मोनिका झा, सुशीला तामाङ, अदिति श्रेष्ठ, बिजु महर्जन, सुस्मिता बोगटी, लक्ष्मी चौधरी, कृति घिमिरेलगायत १३ जना महिला फोटोग्राफरको सहभागिता थियो । यस कार्यशालाले महिलाहरूलाई फोटोको माध्यमबाट आफ्नो कथा विश्वलाई बताउने नयाँ अवसर प्रदान गरेको छ ।
उक्त विमोचन कार्यक्रममा फोटोग्राफीमा ‘महिलाः समकालीन चुनौतीहरू र अवसरहरू’ शीर्षकमा प्यानल छलफल पनि आयोजना गरिएको थियो । यस प्यानलमा नेपालका प्रतिष्ठित फोटोग्राफर तथा फोटो सर्कलकी निर्देशक नयनतारा गुरुङ कक्षपति, फोटोग्राफर उमा विष्ट, र फोटो पत्रकार मोनिका मल्लले सहभागिता जनाएका थिए । छलफलले फोटोग्राफीमा महिलाहरूले सामना गर्ने चुनौतीहरू र तिनले प्राप्त गरेका अवसरहरूको विषयमा गहन चर्चा गरेको थियो ।






