म्यानचेस्टर । म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेनले प्रोफेसनल फुटबलर्स एसोसिएसन (पिएफए) ‘प्लेयर अफ द इयर’ अवार्ड जित्नुभएको छ । फोडेनले सिटीका एर्लिङ हालान्ड तथा रोड्री, चेल्सीका कोल पामर, आर्सनलका मार्टिन ओडेगार्ड र एस्टन भिल्लाका ओली वाटकिन्सलाई पछि पार्दै अवार्ड जित्नुभएको हो ।
पेप ग्वार्डिओलाको सिटीले युइएफए सुपर कप र क्लब विश्वकपको उपाधि उचालेको थियो । यस्तै, एफए कप उपविजेता पनि बनेको थियो । इंग्ल्याण्डका २४ वर्षीय मिडफिल्डरले गत सिजन सबै प्रतियोगिताका ५३ खेलमा २७ गोल गर्नुभएको थियो । अवार्ड जितेपछि फोडेनले भन्नुभयो, ‘यो पुरस्कार जित्नु निकै विशेष कुरा हो । यसका लागि म निकै गौरवान्वित र कृतज्ञ छु ।’ चेल्सीका २२ वर्षीय विंगर पामरले सिटी छाडेपछि लण्डन क्लबमा पहिलो सिजनमा प्रिमियर लिगमा ३४ खेलमा २२ गोल गर्नुभएको थियो । एजेन्सी ।






