विगत लामो समयसम्म लोकप्रियताको प्रतीक हुनुभएका र निर्विवाद मानिनुभएका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अहिले विवादको घेरामा पुग्नुभएको छ । प्रधानमन्त्री केपी ओलीले गरेको निर्णयमाथि विवाद गर्न थालेपछि कुलमान आफैं विवादको घेरामा पर्नु भएको छ र यो घेरा झन् मजबुत हुँदै गएको छ । उहाँकाविरुद्ध अख्तियारमा समेत उजुरी परेको छ । यसको सत्यता सम्बन्धित निकायबाट निरोपण होला नै तर सारा जनताले आफ्नो आँखाको नानी ठानेको व्यक्तिलाई यसरी आक्षेप लगाउन मिल्ने कुनै पनि विषय कसैले नपाएको भए ज्यादै बेस हुनेथियो । तर, त्यसो हुन सकेन । बिजुली भनेको बत्तीमात्र होइन यो त शक्ति पनि हो । नेपाली जनताले बिजुली बाल्न र बिजुलीबाट गर्नुपर्ने काम चौबीस घण्टामा अठार घण्टासम्म गर्न नपाएर आफ्ना कामहरू ठप्प पार्नुपरेको वा अँँध्यारामा बस्नुपरेको बेला तत्कालीन सरकारको निर्णयमा कुलमान नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बन्नु भएको थियो ।
तत्कालीन सरकार लामो समयसम्म सशस्त्र क्रान्ति गरेर आएको भएका कारण केही गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित भएर पनि हुनसक्छ सरकारका मन्त्री तथा प्रधानमन्त्रीले यसतर्फ चासो देखाएर कार्यकारी निर्देशकसँग सल्लाह गरेर लामो समयदेखि चल्दै आएको र चौबीस घण्टामा कहिले १२ घण्टा, कहिले १४ घण्टा र कहिलेकाहीँ त चौबीस घण्टामा १८ घण्टासम्म हुँदै आएको लोडसेडिङ हटाइएको थियो । कुलमान आफैं पनि प्राविधिक क्षेत्रका व्यक्ति भएकाले यसो गर्न सहज भएको थियो । उहाँ इन्जिनियर भएकाले अरू प्रशासनिक व्यक्तिहरूको बद्नियत थाहा पाउन सजिलो भएको थियो । उहाँ आपूmले पनि बद्नियत राखेको भए लोडसेडिङ हटाउन सम्भव हुँदैनथ्यो तर उहाँले इमानदारीताका साथ काम गर्नुभयो ।
दिनमा अठार घण्टासम्म हुँदै आएको लोडसेडिङ हटेपछि उहाँको लोकप्रियता एकाएक चुलिन पुग्यो भने भित्री रूपमा उहाँका विरोधीहरूको पनि निकै ठूलो समूह खडा भयो । उत्पादित बिजुली जनतालाई नदिएर खेर फाली रातदिन अँध्यारामा बस्न बाध्य बनाई जेनेरेटर र इनभर्टरको व्यापार गरेर कुस्त कमाउन पल्केका व्यापारीहरू तथा तिनीहरूसँग मिलेर कमाउन पल्केका कर्मचारी तथा राजनीतिज्ञहरू उहाँको कदमबाट रिसाउनु स्वाभाविक थियो तर त्यसपछि आजका मितिसम्म नेपाली जनताले अँध्यारामा बस्नुपरेको छैन । बीचमा एकपटक सरकारले उहाँलाई निरन्तरता दिएन तर पुनः उहाँलाई नै सोही पदमा नियुक्त गरिएको छ । उहाँको लोकप्रियता चुलिएका बेला यसैगरी लोकप्रिय बनेका जनजातिका सन्दुक रुइत, महावीर पुन र उहाँ तीनजना व्यक्तिहरूको नाम लिने गरिन्थ्यो ।
तर, लामो समयसम्म त्यहाँ बस्नुभएका कुलमान घिसिङबाट अनियमितता भएको भनेर पछिल्ला दिनहरूमा चर्चा हुँँदै आएको छ । पहिले पनि चीम आयात गर्दा उहाँबाट अनियमितता भएको आरोप लागेको थियो तर उक्त अरोप प्रमाणित हुन सकेन । त्यसले गर्दा उहाँको लोकप्रियता अझै चुलिएर गयो । एकातिर उहाँलाई तत्कालीन ओलीको सरकारले निरन्तरता नदिनु र अर्कातिर त्यसको केही समयपछि हुन लागेको निर्वाचनमा जनताबाट उहाँको उम्मेदवारी माग हुनुले उहाँको लोकप्रियतालाई अझैमाथि उठायो । उहाँले सार्वजनिक रूपमै आपूm एकजना कर्मचारीमात्र भएका कारण आफूलाई कार्यकारी निर्देशकको भूमिकाबाट हटाउने सरकारका विरुद्धमा सडकमा नउत्रिन विद्यार्थी तथा नागरिकसँग आग्रहसमेत गर्नुभएको थियो ।
यसैगरी उहाँले आपूm राजनीतिमा नआउने र उम्मेदवार नबन्ने घोषणा पनि गर्नुभएको थियो । २०७९ सालको आमनिर्वाचन सम्पन्न भएपछि बनेको सरकारले उहाँलाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । जनस्तरमा उहाँको लोकप्रियता अहिले पनि त्यति खस्किएको छैन तर उहाँबाट अनियमितताहरू भएको भनेर हालका दिनमा निरन्तर रूपमा समाचार आइरहेका छन् । उहाँले आफ्ना दाजुभाइहरूका नाममा कम्पनीहरू खोलेर विभिन्न कारोबार गरेको, यसका लागि १७ वटा बैंकमा खाता खोलेर एक वर्षमै अर्बाैंको कारोबार गरेको, लाभकर छल्न ५५ करोडको शेयर नौ करोडमा खरिद गरेको, सार्वजनिक खरिद ऐनले गरेका व्यवस्थाहरू उल्लंघन गरेर ठेक्कापट्टामा अर्बौं घोटला गरेकोलगायत अनेकौं आक्षेपहरू उहाँमाथि लगाइएको छ ।
यस्ता अनियमितालाई आधार मानेर उहाँविरुद्ध अख्तियारमा उजुरी परेको छ तर उहाँले भने यी आरोपहरूमा कुनै सत्यता छैन भन्नुभएको छ । उहाँले पत्रकार सम्मेलन गरेर आफ्ना पालामा विद्युत प्राधिकरणलाई मुनाफामा लगेको दाबी गर्नुभएको छ । आरोप लाग्दैमा कुनै व्यक्ति दोषी मानिँदैन भन्ने कानुनी मान्यता छ । यसकारण उहाँ दोषी भए/नभएको कुरा अहिले नै प्रमाणित हुनसक्ने विषय होइन । उहाँ दोषी भए कानुनले त्यसको प्रमाणित गरिहाल्छ र दोषी नभए अरूले दोषी हो भन्दैमा दोषी हुने होइन । त्यो भोलिका दिनमा विद्यमान ऐन–कानुनका व्यवस्था हेरेर न्यायाधिकारीहरूबाट निर्णय हुने कुरा हो ।
अहिले भन्न सकिने कुरा चाहिँ के हो भने यदि उहाँमाथि आग्रह पूर्वाग्रहबाट आरोप लगाइएको हो भने त्यो उचित होइन र अर्कातिर उहाँ जस्तो लोकप्रियताको शिखर व्यक्तित्वबाट कसैले आफ्नाविरुद्धमा यसरी आक्षेप लगाउने थोरैमात्र ठाउँ पनि नदिएको भए त्यो अत्यन्त उचित मानिने थियो र यति चर्चा गर्ने मौका पनि कसैले पाउने थिएनन् । तर, त्यसो हुनसकेन । अहिले उहाँलाई दोष लगाउनेहरूले भनेका यस्ता कुरामा आधार र प्रमाणसमेत देखाएका छन् ।
यस अर्थमा उहाँले म निर्दोष छु भन्दैमा सम्बन्धित निकायले निर्दोष मान्ने र दोषी हो भनेर दोष लगाउनेहरूले दोष लगाउँदैमा दोषी हो भन्ने काम न्यायिक निकायहरूले गर्दैनन् । त्यस अर्थमा यसको निराकरणका लागि प्रतीक्षा त गर्नै पर्छ । निष्कर्षमा भन्दा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको लोकप्रियता भने यस्ता चर्चाहरूको कारणले निश्चय पनि हालका दिनमा खस्किन पुगेकै छ । दोषी प्रमाणित भएमा हिजोका लोकप्रियताले अहिलेको दोष छोप्ने काम भने गर्न सक्दैन ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता