काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको पार्टी फेरि फुटेको छ । वैद्यबाट समाजवादी क्रान्ति सम्भव नरहेको भन्दै हरिकृष्ण गजुरेललगायत युवाहरूले यसैसाता क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट विद्रोह गरेका हुन् । १२ वर्षसम्म साथ दिँदासमेत वैद्यको सोचमा परिवर्तन नभएपछि आफूहरूले विद्रोह गरेको गजुरेलले बताउनुभयो । वैद्यबाट फुटेका गजुरेल सहितका युवा नेताले नयाँ पार्टी बनाउने तयारी गरेका छन् । अर्को सातासम्म नयाँ पार्टी घोषणा गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।
वैद्यको पार्टी फुटेको यो पहिलोपटक भने होइन, न त अन्तिम नै । यसअघि गत साउन १ गते पनि वैद्य नेतृत्वको पार्टी फुटेको थियो । पार्टीका सह-संयोजक धर्मेन्द्र बाँस्तोलालगायत नेताहरू एकता प्रक्रिया असफल भएको घोषणा गर्दै अलग्निुभएको थियो । १६ महिनाअघि २०७९ चैतमा किरण र बास्तोलाको पार्टीबीच एकता भएको थियो । यो अवधिमा पार्टी एकतालाई सुदृढ गर्न कैयौँ प्रयत्न भए पनि सफल हुन नसकेको बास्तोलाले बताउनुभयो । उहाँले आफ्नो पुरानै पार्टी फेरि क्रियाशील गराउनुभएको छ ।
एक महिनाको बीचमा वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी दुईपटक विभाजन भएको हो । उसो त उहाँ नेतृत्वको पार्टी फुट्नु नौलो कुरा होइन । बास्तोलालगायत नेताहरू विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरेका थिए । विप्लव पनि वैद्यबाटै फुटेर जानुभएको थियो । वैद्य जनविद्रोहमा जान आनाकानी गरेको आरोप लगाउँदै विप्लव समूहले २०७१ मंसिर ८ गते पार्टी विभाजन गर्नुभएको थियो । वैद्यबाट विद्रोह गरेपछि विप्लवले दुई वर्ष अर्धभूमिगत गतिविधिसमेत गर्नुभयो । तर, अन्तिममा सरकारसँग सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा आउनुभएको हो ।
माओवादी अध्यक्ष प्रचण्डसँग अन्तरसंघर्ष चर्किएपछि २०६९ असार ५ गते ३० प्रतिशत हिस्सासहित वैद्यले पार्टी विभाजन गर्नुभएको थियो । वैद्यको पार्टीबाटै फुटेर जानुभएका रामबहादुर थापा बादल एमाले र देव गुरुङलगायत माओवादी केन्द्रमा हुनुहुन्छ ।
जनयुद्धका मुख्य योजनाकार, माक्र्सवादी सिद्धान्तकार र शास्त्रीय चिन्तकसमेत रहनुभएका वैद्यमा जडसूत्रवादी चिन्तन हाबी भएको आरोप लाग्ने गरेको छ । हुन त यो विभाजनको रोग वैद्यको पार्टीमा मात्रै छैन ।
पार्टीबाट विप्लव समूह अलग भए पनि विभाजनको क्रम रोकिएन । वैद्यको कार्यनीतिप्रति असहमति जनाउँदै बादल, देव गुरुङ, पम्फा भुसाललगायत नेताहरू २०७३ जेठ ६ गते पुनः नेकपा माओवादी केन्द्र फर्किनुभएको थियो । अहिले जनयुद्ध लडेका मूल नेतृत्वमध्ये वैद्यलाई सिपीले मात्र साथ दिनुभएको छ । टुटफुट र विभाजनबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी मात्र होइन, नेकपासमेत अछुतो छैन । वैद्यबाट अलग्गिएर एकीकृत क्रान्तिमा लाग्नुभएका विप्लवले पनि बारम्बार विभाजनको सामना गर्नुपरेको छ । २०७६ फागुनमा सरकारसमक्ष तीन बुँदे सहमतिमार्फत शान्तिपूर्ण खुला राजनीतिमा आएपछि विप्लवको पार्टी विभाजन भएको थियो । नेतृत्वले क्रान्तिकारी बाटो छोडेर दक्षिणपन्थी संसदीय भासमा जान खोजेको आरोप लगाउँदै बास्तोला लगायतले पार्टी फुटाउनुभएको थियो । नेकपाबाट चोइटिएर झण्डै आधा दर्जन पार्टी गठन भइसकेको छ । निर्वाचन आयोगमा दर्ता भएका नेकपा (माओवादी समाजवादी), नेकपा (समाजवादी), नेकपा (परिवर्तन), नेकपा (बहुमत) लगायत स-साना दलहरू अस्तित्वमा छन् ।
माओवादीबाटै अलग्निुभएका डा. बाबुराम भट्टराईले पनि पटक-पटक विभाजनको सामना गर्नुपरेको छ । नयाँ वैकल्पिक शक्ति गठन गर्ने उद्घोष गर्दै २०७२ साल असोज ९ गते माओवादी केन्द्रबाट अलग हुनुभएका भट्टराईले २०७३ जेठ ३० गते नयाँ शक्ति पार्टी गठन गर्नुभएको थियो । तर ०७४ को निर्वाचनमा देशभर चर्चा पाए पनि समर्थन पाउन सकेन । अन्ततः उपेन्द्र यादव र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा उहाँले पार्टी विलय गराउनुभयो । त्यसपछि जनता समाजवादी हुँदै नेपाल समाजवादी गठन गर्नुभएका भट्टराईले विभाजनको पीडाबाट अहिलेसम्म छुटकारा पाउन सक्नुभएको छैन । युद्धकालदेखि भट्टराईलाई सहयोग गरेका गंगानारायण श्रेष्ठ, विश्वदीप पाण्डे समेतले साथ छोडनुभएको छ । अर्का अध्यक्ष महिन्द्रराय यादव समूहले ०८० चैत ३ गते पार्टी विभाजन गराउनुभएको छ । भट्टराई अहिले महाधिवेशनको तयारीमा हुनुहुन्छ । यादव समूह माओवादीसँग एकताको तयारीमा छ ।
गुट, फुट र विभाजन नेपाली राजनीतिको नियमित आकस्मिकता हो । प्रायः दलहरूमा विभाजन भइरहन्छन् । केही समयअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि फुटेको थियो । जसपा फुटको एउटै कारण थियो सत्ता र शक्ति । तर, साना कम्युनिस्ट दल भने सरकार त परको कुरा संसद्मा पनि छैनन् । तर, विभिन्न बहानामा उनीहरू बारम्बार फुटिरहेका छन् ।






