बर्लिन । प्रि-सिजनको मैत्रीपूर्ण खेलमा बार्यन म्युनिखले १४ गोल गरेको छ । बुधबार राती भएको खेलमा बार्यनले जर्मन क्लब एफसी रोटाच एगनलाई १४-१ ले हराएको हो । बार्यनको जितमा म्याथ्यस टेलले हृयाट्रिक गर्नुभयो । १९ वर्षीय फ्रेन्च खेलाडीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गर्नुभएको थियो । एडिन लिचिना र एरिजोन इब्राहिमोचिकले दुई/दुई गोल गर्नुभयो ।
यसअघि खेलको २४औँ मिनेटसम्म कुनै गोल भएको थिएन । त्यसपछि भने पाँच मिनेटमा पाँच गोल भएपछि खेलमा बार्यन हाबी भएको हो । नतिजापछि नवनियुक्त प्रशिक्षक भिसेन्ट कम्पनीले सानदार सुरुवात गर्नुभयो । उहाँले अझै सुधारमा खाँचो रहेको प्रतिक्रिया दिनुभयो । ‘युवा खेलाडीले राम्रो प्रदर्शन गरेका छन् । तर, हामीले धेरै सुधार गर्नुपर्नेछ,’ उहाँले भन्नुभयो ।
बार्यनले प्रि-सिजनमा टोटनहमसँग दुई खेल खेल्नेछ । त्यस्तै, जर्मनकै एफसी डुरेनसँग एक खेल खेल्ने तालिका छ । गत सिजन कमजोर प्रदर्शनपछि क्लबले कम्पनीलाई भित्र्याएको हो । टोली गत सिजन उपाधिविहीन भएको थियो । त्यसैले क्लब यसपटक गुमेको लय फर्काउने योजनामा छ । एजेन्सी ।






