पेरिस । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिनाका खेलाडीले रंगभेदी नारा लगाएको विषयमा छानबिन सुरु गरेको छ । कोपा अमेरिकाको उपाधि जितेपछि उनीहरूले फ्रान्सेली स्ट्राइकर किलियन एमबाप्पेलगायतलाई लक्षित गरी रंगभेदी र समलिंगी नारा लगाएका थिए ।
फिफाका प्रवक्ताले भन्नुभयो, ‘फिफालाई सोसल मिडियामा भाइरल भएको भिडियोबारे जानकारी छ र घटनाको अनुसन्धान भइरहेको छ । फिफा खेलाडी, समर्थक र अफिसियललगायत कसैले पनि कुनै पनि प्रकारको भेदभावको कडा शब्दमा भत्र्सना गर्दछ ।’
चेल्सी तथा अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डिजले मियामीमा कोलम्बियाविरुद्ध कोपा जितपछि टिम बसबाट सामाजिक सञ्जालमा लाइभ भिडियो पोस्ट गर्नुभएको थियो । २३ वर्षीय फर्नान्डिजसहित केही खेलाडीले सन् २०२२ को विश्वकप फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई हराएको भन्दै गीत गाएका थिए ।
यो गीतमा एमबाप्पेलगायत केही खेलाडीलाई लक्षित गरिएको छ र यसमा रंगभेदी र होमोफोबिक अपमान पनि समावेश गरिएको छ । चेल्सीले यसअघि फर्नान्डिजविरुद्ध आन्तरिक अनुशासनको प्रक्रिया सुरु गरेको घोषणा गरेको थियो ।
सन् २०२३ मा बेनफिकाबाट चेल्सीसँग १० करोड ५० लाख पाउण्ड (१३ करोड ६८ लाख अमेरिकी डलर) को कीर्तिमानी शुल्कमा चेल्सीमा सामेल हुनुभएका फर्नान्डिजले माफी माग्दै भन्नुभएको छ, ‘गीतमा अत्यधिक अपमानजनक भाषा समावेश गरिएको छ र यी शब्दहरूका लागि कुनै बहाना छैन । म सबै प्रकारका भेदभावविरुद्धमा उभिन्छु र कोपा अमेरिका उत्सवको उल्लासमा फसेकोमा क्षमाप्रार्थी छु ।’ एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता