सुर्खेत । मोडलिङ क्षेत्रमा जम्दै गर्नुभएकी दुर्गा भट्टले केही म्युजिक भिडियोमा आफ्नो अभिनय गर्दै आउनुभएको छ । अभिनयमा कुशल भट्ट सुन्दर मुहार र आकर्षक शरीरको धनी हुनुहुन्छ । चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उहाँप्रतिको प्रमुख आकर्षण हो । २६ वर्षीया भट्ट मिहिनेतका साथ अभिनय र कलालाई अझै निखारता ल्याउन चाहनुहुन्छ । केही समयअघि उहाँको मुख्य अभिनय रहेको गीत ‘हीरा फल्न्या देश’ सार्वजनिक भएको थियो । स्वदेशमा जीउने आधार केही नभेटेर युवाहरू विदेशिनु बाध्यता रहेको विद्यमान देशको पीडा उक्त गीतमार्फत दर्शाइएको छ ।
गीतको भिडियोमा दुर्गाको अभिनय उत्कृष्ट छ । खडानन्द चौलागाईंको यो गीतमा भानुभक्त जोशी र चौलागाईंको शब्द÷कथा, भुवन प्रकाश बडूको लय तथा टीका पुन र खडानन्दकै स्वर छ । यो गीतसँगै मोडल भट्टले सयौं गीतका भिडियोमा अभिनय गरिसक्नु भएको छ । उहाँले छोटो समयमा चारभन्दा बढी म्युजिक अवार्ड र सम्मान पाउनु भएको छ । भने भारत, थाइल्याण्ड, मलेसिया, सिंगापुर र दुबईलगायत देशमा पुगेर अभिनय कौशल प्रर्दशन गरिसक्नुभएको छ ।
टेलिभिजन पर्दामा आउने रहर
कलाकार दुर्गा भट्टको स्थायी ठेगना कृष्णपुर नगरपालिका-८, कञ्चनपुर हो । बुबा नारदप्रसाद भट्ट र आमा बिस्नादेवी भट्टको कोखबाट जन्मिएभएकी दुर्गा कलाकारितामा लागेको ६ वर्ष बितिसकेको छ । जीवनको उतारचडावका कारण डडेल्धुरा हुँदै कञ्चनपुर बसाइँसराइ गर्नुको पीडा उहाँको परिवारले भोगेको छ ।
डडेल्धुरा चौरास भट्टगाउँबाट तत्कालीन रैकवार विचवा गाविस कञ्चनपुरमा बाआमा बसाइँसराइ गरेर आउँदा दुर्गा सात वर्षकी हुनुहुन्थ्यो । आर्थिक अवस्था सामान्य रहेका कारण कक्षा एकदेखि एसएलसीसम्म स्थानीय कञ्चन माध्यमिक विद्यालयमै पढ्नुभयो । त्यतिबेला गेटामा रहेको सरस्वती मावि अत्यन्तै लोकप्रिय विद्यालय भएकाले उहाँले साथीहरूसँग ११ र १२ त्यतै पढ्नुभयो ।
विद्यालय जीवनदेखि नै टेलिभिजनको पर्दामा देखिने उहाँको रहर हो । अहिले डिजिटल प्लेटफर्ममार्फत दर्शक श्रोतामा माझ सक्रिय रूपमा देखिने उहाँले ६ वर्षको अवधिमा दर्जनौं म्युजिक भिडियो खेलिसक्नुभएको छ । सुरुमा ‘छोडी जाने निष्ठुरी’ गीतमा सानो भूमिका पाउनुभएकी उहाँले पछि चर्चित कलाकार शंकर बिसीसँग ‘जसले जे भन्छ नाँच्छु मजाले’ तीज गीतमा अभिनय गर्न पाउँदा अत्यन्तै खुशी भएको अनुभव सुनाउनुहुन्छ । देशकै लोकप्रिय कलाकारसँग सो तीज गीतमा अभिनय गर्दा दर्शक श्रोता माझ चिनाउन सफल भएको उहाँ बताउनुहुन्छ ।
‘मलाई कलाकार नै बन्नु थियो । त्यसैले अत्यन्तै दुःख गरियो । अझै लोकप्रिय हुन नसकेनी आफूलाई सन्तुष्टि भने मिलेको छ’, भन्नु हँुदै उहाँ, ‘आफूले अभिनय गरेका गीतको भिडियो दर्जनौं छायांकन भए तर के कति कारणले ती सबै सार्वजनिक भएनन ? थाहा छैन आशा छ कुनै दिन ती सार्वजनिक हुनेछन् ।’
मार्केटिङदेखि बीमा अभिकर्ताको काम
१२ को पढाइ सकेपछि आफ्नो खर्च पनि कसरी धान्ने भन्ने कुराले दुर्गालाई पिरोल्न थाल्यो । पछि स्थानीय अत्तरीया पोष्ट पत्रिकामा दुर्गाले बजार प्रतिनिधिको रूपमा मार्केटिङको काम गर्नुभयो । त्यसपछि बीमा इन्स्योरेन्समा एजेन्ट भएर काम गरेको उहाँको अनुभव छ । तर, त्यहाँ पनि दुर्गालाई सन्तुष्टि मिलेन । कलाकारिता क्षेत्रमै सानैदेखिको लगावका कारण अन्ततः उहाँ यो क्षेत्रमा पूर्णरूपमा जोडिनुभयो । २०७४ सालबाट दुर्गा औपचारिक रूपमा कलाकारितामा होमिनुभयो ।
सुरुमा सुदूरपश्चिमका विभिन्न मेला महोत्सवमा उहाँले आफ्नो नृत्य देखाउनुहुन्थ्यो । त्यो बीचमा केही गीतका भिडियो र सात/आठवटा लघु चलचित्रमा उहाँले काम गर्ने अवसर पाउनुभयो । सोचेजस्तो भने सन्तुष्टि कामबाट मिलेन । प्रोड्युसरले छ/सात दिन सुटिङमा सँगै बस्नुपर्छ घर आउन जान मिल्दैन भनेपछि उहाँले त्यो प्रस्ताव इन्कार गर्नुभयो । त्यसपछि उहाँले अभिनय गरेका ती लघु चलचित्रमा अर्को पात्र राखेर पुनः रि-सुटिङ गरेको नमिठो अनुभव उहाँसँग छ । एक समय कलाकारिता मेरो लागि होइन कि ? म सक्दैन कि क्या हो ? जस्तो सोच दुर्गालाई लाग्यो । तर, उहाँले हिम्मत हार्नुभएन । सुदूरपश्चिमका मेला महोत्सवमा नृत्य गर्दागर्दै बिस्तारै उहाँले आफ्नो परिचय बनानुभयो । केहीले चिन्न थाले, हौसला दिन थाले, त्यसपछि उहाँलाई कलाकारिताको नशा चढ्यो ।
बाबाले दिएको तीन सय रुपैयाँ
दुर्गा भट्टलाई विस्तारै सुदूरपश्चिम बाहिर पनि चिनिन मन लाग्यो । त्यसका लागि काठमाडौं जाने योजना बन्यो । काठमाडौं जाने त जाने तर कसरी जाने ? घरपरिवारसँग काठमाडौंसम्म पठाउने भाडासमेत थिएन । दुर्गाले पछि आफू काठमाडौं जान्छुभन्दा बाआमाले सुरुमा मान्नुभएन । तर, बिस्तारै उहाँले घरपरिवारलाई मनाउनुभयो । ‘घरबाट काठमाडौंका लागि यात्रा त तय गर्ने निधो भयो । तर पैंसा थिएन ।
आफूले नृत्यबाट जम्मा गरेर लुकाई राखेको एक हजार पाँच सय रुपैयाँ थियो’, उहाँले भन्नुभयो, ‘त्यत्तिले पनि काठमाडौं पुगिँदैन थियो, तर जाने निधो गरेपछि यात्रा सुरु गर्ने तयारी भयोे ।’ त्यो बेला बाबाले तीन सय रुपैयाँ हातमा थमाइएको याद ताजै छ ।
त्यत्तिले अब के गर्नु ? भाडा तिर्नु कि खाना खानु ? तर दुर्गा सपनाको शहर काठमाडौं हिँड्नुभयो । र, जेनतेन काठमाडौंसम्म खर्च पु¥याइयो । तर नौलो शहर, फराकिला सडक, नयाँ नयाँ मान्छे उहाँलाई सबै बिराना लाग्न थाले ।
‘सुरुमा अक्क न पक्क भए । न कोही चिनेका छन्, न त खाना बस्नकै ठेगान छ । काठमाडौंमा १५ दिनसम्म चाउचाउ र पानी खाएरै बसे’ उहाँले थप्नुभयो, ‘पछि बिस्तारै चिनजान बढाउँदै गएँ, साथीहरू बने, कोठासम्म खोजे । अनि थुप्रै कलाकारलाई गुहारे । तर सुरुमा कसैले पत्याएनन् ।’
अरूले पत्याउन पनि कसरी, किन कि उहाँको प्रतिभा कसैले देखेका थिएनन् । पछि आफूमा भएको क्षमता बिस्तारै देखाउँदै गएपछि काम पाइयो । अहिले दुर्गा लगभग व्यस्त नै हुनुहुन्छ । काठमाडांैमा, कहिले छिमेकी मुलुक भारतमा रहेका नेपाली दाजुभाइले आयोजना गरेका सांस्कृतिक कार्यक्रममा र कहिले देशका विभिन्न मेला महोत्सवमा दुर्गालाई अफर आइरहेको छ ।
बाबाले दिएको तीन सय रुपयाँ बोकेर काठमाडांै हिँडेकी दुर्गा अहिले महिनाको ३० र ४० हजार मज्जैले कमाउनुहुन्छ । अभिनय सँगसँगै स्टेज कार्यक्रममा अफर बढी आउने गरेको छ । यतिमात्रै होइन अहिले आफैं गीत लेख्ने, म्युजिक भिडियोमा अभिनय गर्नेलगायत कलाकारितामै उहाँ व्यस्त हुनुहुन्छ ।






