काठमाडौं । टी-२० विश्वकप २०२४ को सुपर-८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा बंगलादेशलाई आठ रनले हराउँदै अफगानिस्तान विश्वकप इतिहासमा पहिलोपटक सेमिफाइनलमा पुगेको हो ।
अफगानिस्तान सेमिफाइनलमा पुगेसँगै अष्ट्रेलिया सुपर-८ बाटै बाहिरिएको छ । ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भयो । बंगलादेशका ओपनर लिटन दासले ५०, तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन् । अफगानिस्तानलाई जिताउने क्रममा कप्तान राशिद खान र नवीन उल हकले ४/४ र फजलहक फारुकी र गुलबदिन नाबीले एक/एक विकेट लिनुभयो ।
यसअघि सेन्ट भिन्सेन्टको किङटाउनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुर्बाजले ४३, कप्तान राशिद खानले १९, इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० र करिम जन्नतले ७ रन जोड्नुभयो । बंगलादेशका रिशाद हुसेनले तीन तथा तस्किन अहमेद र मुस्ताफिर रहमानले एक/एक विकेट लिनुभयो ।
योसँगै सेमिफाइनलको समीकरण पनि पूरा भएको छ । सुपर-८ को समूह १ बाट भारत शीर्ष स्थान र अफगानिस्तान दोस्रो हुँदै सेमिफाइनल पुगे । समूह २ बाट साउथ अफ्रिका शीर्ष स्थानमा रहँदा इंग्ल्याण्ड दोस्रो भएर सेमिफाइनलमा पुगेका हुन् । भारतले आइसिसी टी-२० विश्वकप २०२४ सुपर-८ मा अष्ट्रेलियालाई २४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । भारत तीन खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । भारतले सेमिफाइनलमा ग्रुप-२ को उपविजेता इंग्ल्याण्डसँग खेल्नेछ । अब अफगानिस्तानले जुन २७ मा पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ भने दोस्रो सेमिफाइनलमा भारतले इंग्ल्याण्डसँग खेल्नेछ । यो खेल पनि २७ जुनमा मात्र हुनेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements