काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत सुपर-८ चरणको खेलमा दुवै आयोजक अमेरिका र वेष्ट इण्डिज पराजित भएका छन् । वेष्ट इण्डिज इंग्ल्याण्डसँग आठ विकेटले पराजित भएको हो भने अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएको हो । बिहीबार बिहान वेष्ट इण्डिजले दिएको १८१ रनको लक्ष्य इंग्ल्याण्डले सहजै पूरा गर्यो । जवाफी ब्याटिङमा ओर्लिएको इंग्ल्याण्डले १७.३ ओभरमा दुई विकेट गुमाएर विजयी लक्ष्य पूरा गर्यो ।
लक्ष्य भेट्टाउने क्रममा ओपनर फिल साल्टले ८७ र जोनी बेयरस्टोले ४८ रनको अविजित पारी खेल्नुभयो । जस बटलरले २५ र मोइन अलीले १३ रनको योगदान गर्नुभयो । वेष्ट इण्डिजका आन्द्रे रसेल र रोस्टन चेशले एक/एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले ४ विकेटको क्षतिमा १८० रन बनाएको थियो । वेष्ट इण्डिजका लागि जोनसन चाल्र्सले ३८, किकोलस पुरन र रोभम्यान पावेलले ३६/३६ रन बनाउनुभयो भने ब्रेन्डन किङ २३ रनमा रिटार्यड हर्ट हुनुभयो । यस्तै, शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्ड ५ रनमा अविजित रहनुभयो । इंग्ल्याण्डका जोफ्रा आर्चर, अदिल राशिद, मोइन अली र लियाम लिभिङस्टोनले एक/एक विकेट लिनुभयो ।
यस्तै, टी-२० विश्वकपको सुपर ८ मा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले हराएको छ । बुधबार राती वेष्ट इण्डिजको नर्थ साउण्डमा भएको खेलमा पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले चार विकेट गुमाएर १९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा अमेरिकाले ६ विकेट गुमाउँदा मात्र १७६ रन बनाउन सक्यो ।
प्लेयर अफ दि म्याच क्विन्टन डि ककले ४० बलमा सर्वाधिक ७४ रन बनाउनुभयो । जितपछि सुपर ८ मा दक्षिण अफ्रिकाले दुई अंक जोडेको छ । अमेरिकाको इनिङ्समा आन्द्रेस गौसले ४७ बलमा समान पाँच चौका र छक्कासहित अविजित ८० रन प्रहार गर्नुभयो । हर्मित सिंहले ३८ र अर्का ओपनर स्टेभन टेलरले २४ रन बनाउनुभयो । कागिसो रबडाले तीन विकेट हात पारे । हर्मित र गौसले ४३ बलमा ९१ रनको साझेदारी गरे पनि टोलीलाई जित दिलाउन सक्नुभएन ।
यसअघि टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि ओपनर डि ककले ४० बलमा सात चौका र पाँच छक्कासहित सर्वाधिक ७४ रन बनाउनुभएको थियो । ऐडम मारक्रमले ४६, हेन्रिक क्लासेनले ३६ र ट्रिस्टन स्टबले २० रनको योगदान गर्नुभयो । क्लासेन र स्टबले ५३ रनको अविजित साझेदारी गर्नुभयो । अमेरिकाका लागि सौरभ नेत्राभाल्कर र हर्मितले समान दुई विकेट हात पार्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements