काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने आइसिसी टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेलमा सहभागी हुनुहुने भएको छ । त्यसका लागि उहाँ वेष्ट इण्डिज पुगिसकेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानका अनुसार सन्दीप वेष्ट इण्डिज पुगेर नेपाली टोलीमा समावेश हुनुहुनेछ ।
यसअघि सन्दीपलाई बलात्कार मुद्दामा उच्च अदातल पाटनले सफाइ दिएपछि क्यानले टोलीमा राख्ने निर्णय गरेको थियो । तर, अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि सन्दीपले अमेरिकाको खेल गुमाउनुपरेको थियो ।
नेपाली टोली श्रीलंकासँग खेलेपछि बिहीबार वेष्ट इण्डिजको सेन्ट भिसेन्ट पुग्नेछ । उहाँ वेष्ट इण्डिज पुगेपछि मात्र क्यानले आधिकारिक विज्ञप्ति जारी गरेको छ । क्यानका अनुसार सन्दीपको नाम समावेश गर्दै तीव्र गतिका युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखिएको छ । ‘सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आइसिसीसामु पेश गरेको थियो,’ क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल टिममा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभए तापनि आइसिसीसँग समन्वय गरी वेष्ट इण्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी गराउन चाहन्छौँ ।’
नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल हारेको नेपालले श्रीलंकासँग आगामी बुधबार बिहान खेलेपछि वेष्ट इण्डिजको सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग जुन १४ र बंगलादेशसँग जुन १६ मा खेल्नेछ ।
‘आफ्नो र क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु’
वेष्ट इण्डिज पुगेपछि लामिछानेले सबैलाई धन्यवाद दिनुभएको छ । आफ्नो यात्रा सहज बनाउन क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, वकिल सरोज घिमिरे, विनोद दासलगायतलाई उहाँले धन्यवाद दिनुभएको हो । वेष्ट इण्डिज पुगेर आफ्नो र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर रहेको उहाँले बताउनुभएको छ । उहाँले आफ्नो भिसासम्बन्धी सबै झुटा प्रचारको पछि नलाग्न आग्रह गर्नुभएको छ ।
लामिछानेले ‘झुटा प्रचारको पछाडि नलाग्न’ पनि आग्रह गर्नुभएको छ । ‘चतुर सर र पारस दाइ, जसले मेरो पुनरागमन सम्भव पारेको छ, उनीहरूजस्ता महत्वपूर्ण व्यक्तिको छवि धमिल्याउने प्रयास भएकोमा निराश छु । क्यान र नेपाल क्रिकेटको छवि धमिल्याउने झुटा प्रचारको पछाडि नलाग्नुहोला,’ उहाँले लेख्नुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts