पोखरा । फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा फेवातालमा डुंगा दौड प्रतियोगिता हुने भएको छ । संस्थाको ३०औँ स्थापना दिवसका अवसरमा प्रतियोगिता एवं एकदिने मेला उत्सव आयोजना गर्न लागिएको हो । पोखराको पर्यटन प्रवद्र्धन गर्नका लागि जेठ ३१ गते मेला र प्रतियोगिता गर्न लागिएको संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो ।
आन्तरिक तथा बाहृय पर्यटक भित्र्याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ४० टोलीले सहभागिता जनाउने संस्थाका सचिव शिव जिसीले बताउनुभयो । प्रतियोगितामा सहभागी हुने टिममा तीनजना हुनुपर्नेछ । सहभागी हुने टिमले काठबाट बनेको डुंगाको प्रयोग गर्नुपर्नेछ ।
सहभागी हुने एउटा टिमलाई तीन सय रुपैयाँ दर्ता शुल्क तोकिएको जिसीले बताउनुभयो । प्रतियोगितामा स्वदेशी तथा विदेशी सबै खेलाडीले सहभागिता जनाउन पाउनेछन् ।
सहभागीको आफ्नो डुंगा नभए आयोजकले व्यवस्था गर्नेछ । प्रतियोगितामा पुरुष टिमले २१ सय मिटर र महिला टिमले १५ सय मिटरमा प्रतिस्पर्धा गर्नुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ विजेताले ३० हजार, उपविजेताले २० तथा तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्ने सचिव जिसीले जानकारी दिनुभयो ।
यसैगरी महिलातर्फका शीर्ष तीनले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि दुई लाख ४० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएका छन् । प्रतियोगिताबाट बचत भएको रकम फेवातालको सरसफाइमा खर्च गरिनेछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता