काठमाडौं । विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ । गएराति भएको खेलमा विनवाड्रस भोलक्यानोजसँग नेपाल पराजित भएको हो ।
सुरुमा ब्याटिङ गरेको भोलक्यानोजले दिएको २०६ रनको चुनौती पूरा गर्न नसक्दा नेपाल पराजित भएको हो । तीन खेलको अभ्यासमा नेपालले पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो। दोस्रो खेलमा ४९ रनले विजयी भएको नेपाल तेस्रो खेलमा ६७ रनले पराजित भएको हो।
पार्क हिल मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको भोलक्यानोजले नेपालविरुद्ध सबै विकेट गुमाएर २०५ रन बनाएको थियो । चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल भने १७.१ ओभरमा १३८ रन बनाएर अलआउट भयो ।
नेपालका ओपनर कुशल भुर्तेल ८ रन बनाउँदै तेस्रो बलमै आउट भएका थिए । नेपालले मात्र १९ रन बनाउँदा अनिलकुमार शाह मात्र २ रन बनाएर आउट भए । तेस्रो विकेटको रुपमा नेपालका अर्का ओपनर आशिफ शेख २४ रनमा आउट हुँदा नेपालले मात्र ४० रन बनाएको थियो । सम्हालिएर खेलेका नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाए । उनी चौथो विकेटको रुपमा ५३ रन बनाएर क्याच आउट भए ।
पाचौं विकेटको रुपमा गुल्सन झा पहिलो बलमै क्याच हुँदा नेपालले १०७ रन मात्र बनाएको थियो । पहिलो बलमा दुई रन जोडेका सोमपाल कामी दोस्रो बलमा आउट हुँदा नेपाले १०९ रन बनाउँदा ६ विकेट गुमाएको थियो ।
सम्हालिएर खेलेका अर्का ब्याट्सम्यान सन्दीप जोरा भने सातौ विकेटको रुपमा २१ रनमा आउट भए । आठौं विकेटको रुपमा कमलसिंह ऐरी ४ रनमा आउट हुँदा नेपालले १६ ओभरको समाप्तिमा १३१ रन मात्र बनाएको थियो ।
नेपाललाई सस्तैमा समेट्न भोलक्यानोजका ड्यारेन नेड र काभेम होडगेले तीनतीन विकेट लिँदा निकलस रेडहेड र डेअन ब्रोनेले समान दुईदुई विकेट हात पारे ।
अन्तिम खेलमा पराजित भए पनि तीन खेलको अभ्यास नेपालले २–१ ले आफ्नो पक्षमा पारेको छ ।यसपछि नेपाल विश्वकप अगाडिको अभ्यास खेलका लागि अमेरिका जाँदैछ । त्यहाँ नेपालले क्यानडा र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।







