काठमाडौं । तेस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’ शुभारम्भ भएको छ । कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजित एक्स्पोको शुक्रबार एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उद्घाटन गर्नुभएको हो । आइआइएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजना रहेको एक्स्पो शुक्रबार र शनिबार गरेर दुई दिन चल्नेछ । प्रदर्शनीमा आइआइएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्ययनरत ६३ विद्यार्थीका इन्टरियरसम्बन्धी विभिन्न सिर्जना प्रदर्शनमा राखिएका छन् । जसमा ३५ ग्राजुयट र २८ रनिङ विद्यार्थी रहेका छन् ।
कार्यक्रममा उपमेयर सुनिता डंगोलले इन्टेरियर डिजाइनलाई पछिल्लो समय महत्वका साथ हेर्न थालिएकाले यसमा लाग्नेको भविष्य राम्रो भएको बताउनुभयो । ‘अर्थसँग जोडेर हेर्ने हो भने इन्टेरियर डिजाइन एकदमै महत्वपूर्ण विधामा पर्छ,’ उहाँले भन्नुभयो ‘अहिले सानो कफी सप खोल्दा पनि डिजाइन गर्ने चलन छ ।’ उहाँले इन्टेरियर डिजाइनमा ग्राजुयट विद्यार्थीलाई बधाई तथा सफल भविष्यका लागि शुभकामनासमेत दिनुभयो ।
कार्यक्रममा नेपाल जीवन बिमाका कार्यकारी प्रमुख प्रवीणरमण पराजुली, ईश्वरलाल जोशी पे्रसिडेन्ट (सोना) लगायतको उपस्थिति थियो ।
एक्स्पोमा दुई प्रकारका प्रदर्शनी छन् । एउटा अध्ययन गरेर ६ महिनामात्र भएका विद्यार्थीको विभिन्न फरक-फरक क्याफे डिजाइनहरू छन् । अर्काे ग्राजुयट भएका विद्यार्थीको थेसिस भनेर राखिएको छ । थेसिस भएकाहरूले विभिन्न प्रोजेट बनाएका छन् ।
प्रदर्शनमा राखिएका सबै प्रदर्शनीबीच समेत प्रतिस्पर्धा हुने र निर्णायकको निर्णयका आधारमा प्रथम, दोस्रो र तेस्रोका रूपमा पुरस्कृत हुनेछन् । उपमेयर डंगोललगायतका अतिथिले सबै प्रदर्शनी अवलोकन गरेर त्यसका बारेमा जानकारीसमेत लिएका छन् । प्रदर्शनीमा उपमेयर डंगोलले ग्राजुयट विद्यार्थीलाई सर्टिफिकेटसमेत प्रदान गर्नुभएको थियो ।
आइआइएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइन विगत एक दशकदेखि फेशन तथा इन्टेरियर डिजाइनसम्बन्धी अध्ययन गराउँदै आएको एकेडेमी हो । आइआइएफटीले आफ्नो विद्यार्थीका सिर्जना आमजनमानसमा परिचित गराउने उद्देश्यले यो कार्यक्रम गर्दै आएको हो । फेशन डिजाइनमा १४ महिना र इन्टेरियर डिजाइनमा १५ महिनाको कोर्स प्रदान गर्दै आएको आइआइएफटीका शाखाहरू काठमाडौंको हेरिटेज प्लाजा, बागबजारको बागबजार प्लाजा र ललितपुरको कुमारीपाटीमा छन् ।
नेपालकै ठूलो फेशन र इन्टेरियर अध्यापन संस्थाका रूपमा परिचित आइआइएफटीले आफूले अध्यापन गर्ने विद्यार्थीका लागि सिर्जना प्रस्तुत गर्न विभिन्न फेशन शो, ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ लगायत कार्यक्रम आयोजना गर्दै आएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts