काठमाडौं । ललितपुर मेयर कप राष्ट्रिय महिला टी-२० प्रतियोगिताको फाइनल खेल आज (शनिबार) हुँदैछ । फाइनलमा सुदूरपश्चिम प्रदेश र नेपाल एपीएफ क्लब भिड्दैछन् । बिहीबार एपीएफले सुदूरपश्चिमलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो भने शुक्रबार सुदूरपश्चिमले बागमती प्रदेशलाई हराएर फाइनलको यात्रा तय गरेको हो । एपीएफले समूह चरणमा भएका चारै खेल जितेको थियो ।
सुदूरपश्चिमले बागमती प्रदेशविरुद्ध १०९ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको बागमतीले १६ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ४८ रनमा समेटियो । जितसँगै चार खेलमा छ अंक जोड्दै सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । पराजित बागमती प्रदेश समान खेलबाट दुई अंक जोड्दै प्रतियोगिताबाट बाहिरियो ।
बागमतीका लागि करिश्मा गुरुङले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सक्नुभएन । कञ्चन श्रेष्ठले ७, विपिसा साहीले ४ तथा सोनी पाख्रिनले ३ रन जोड्नुभयो ।
बागमतीलाई सस्तैमा समेट्नेक्रममा सुदूरपश्चिमकी ऋतु कनोजियाले तीन विकेट लिनुभयो भने कविता जोशी र लक्ष्मी साउदले समान दुई–दुई विकेट लिनुभयो । त्यस्तै कप्तान विन्दु रावल र करिश्मा थापाले समान एक-एक विकेट लिनुभयो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १५७ रनको योगफल बनाइएको थियो ।
सुदूरपश्चिमका लागि सम्झाना खड्काले सर्वाधिक ७४ रनको योगदान दिनुभयो । उहाँले ४७ बलमा १० चौकाको मद्दतले अविजित ७४ रनको योगदान दिनुभएको हो । त्यस्तै, रुवि पोदार र विन्दु रावलले समान २८/२८ रन बनाउनुभयो भने कविता जोशीले अविजित २० रन बनाउनुभएको थियो । बागमतीका लागि करिश्मा गुरुङले एक विकेट लिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements