म्यानचेस्टर । फ्रान्सेली डिफेन्डर राफायल भरानले म्यानचेस्टर युनाइटेड छाड्ने हुनुभएको छ । गत अप्रिलदेखि घाइते भएर मैदानबाहिर रहनुभएका उहाँले यो सिजनको अन्त्यमा युनाइटेड छाड्ने हुनुभएको हो । ३१ वर्षीय खेलाडी उहाँ सन् २०२१ को जुलाईमा रियल म्याड्रिडबाट युनाइटेड आइपुग्नुभएको थियो । त्यतिबेला क्लबले उहाँका लागि ३.४ करोड पाउण्ड खर्च गरेको थियो । भरानले क्लबका लागि ९३ खेल खेल्नुभएको छ ।
सन् २०२३ मा उहाँले क्लबसँग काराबाओ कपको फाइनल जित्नुभएको थियो । त्यतिबेला टेन हागको टोलीले न्युक्यासललाई हराएको थियो । भरानले रियलमा रहँदा तीनवटा लिग उपाधिका साथै चारवटा च्याम्पियन्स लिगको उपाधि जित्नुभएको थियो । सन् २०१८ मा फ्रान्ससँग विश्वकपको उपाधि जित्नुभएका उहाँले सन् २०२३ को फेबु्रअरीमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिनुभएको थियो । एजेन्सी ।






