आत्मनिर्भर बन्दै दुर्गम गाउँका महिला

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । तमानखोला गाउँपालिकाले महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाउन थालेको छ । गाउँपालिकाले छ वटै वडाका महिलाहरुलाई सिप सिकाएर उद्यमसँग जोडेको हो । अहिले महिलाहरुले सिप सिकेर लघुउद्यम संचालन गर्दै आएका छन् । कपडा उत्पादन, बुटिक सिलाई, साबुन तथा सरफ उत्पादन, सिस्नोको पाउडर, डालो र डोकोलगायतका सामग्री उनीहरुले उत्पादन गर्दै आएका छन् । दुई वर्ष अगाडिसम्म घरको चुलो र चौकोमा मात्रै सीमित रहेका महिला अहिले उद्योगमा व्यस्त हुन थालेका छन् ।

गाउँपालिकाको वडा नम्बर ३ तमान गाउँका महिलाहरुले झोला, सल, सुइटर, टोपी, गम्छा लगायतका सामग्री उत्पादन हुँदै आएको छ । महिला कल्याण आमा समुहमा आवद्ध भएर उत्पादनमा लागेका हुन् । गाउँपालिकाले दिएको तालिमले आफूहरुको दैनिकीनै बदलिएको स्थानीय जुनुमाउा घर्ती मगरले बताउनुभयो । विहान बेलुका घरको काम धन्दा गर्ने र दिउसोको समय कपडा उत्पादनमा लाग्ने उहाँको भनाइ छ । सामुहिक रुपमा काम गर्दा रमाइलो हुने भन्दै एकतावद्ध भएर उद्यम संचालन गर्दा आत्मनिर्भर बन्दै गएको घर्ती बताउनुहुन्छ ।

उहाँले भन्नुभयो - “एक्लैभन्दा सामुहिकतामा काम गर्दा धेरै फाइदा हुन्छ, अहिले गाउँमा भएका दिदीबहिनीहरु मिलेर उद्यम चलाएका छौँ, यसले हामीहरुलाई कामतर्फ जिम्मेवार बनाएको छ भने आर्थिक अवस्था सुधारमा ठूलो टेवा पुगेको छ, बिस्तारै बजार विस्तार गर्दै गएका छौँ, सेवाग्राहीको माग अनुसार उत्पादनलाई पनि जोड दिएका छौँ ।”

वडा नम्बर २ को लघुउद्यमी महिला समुहले झोला उत्पादन गर्दै आइरहेका छन् । वडा नम्बर ५ को खुङ्खानीका महिला समुहले सिस्नोको पाउडर, बोङगाखानी लघुउद्यम आमा समुहले भेडाको रौँबाट काम्लो, हर्देउला उत्पादन गरि बजारीकरण गर्दै आएका छन् । वडा नम्बर १ को सिर्जनशील लघु उद्यमी समुहले साबुन सरफलगायतका सामाग्री उत्पादन गर्दै आएका छन् । अहिले गाउँपालिकाको सबै वडाका महिलाहरु कुनै न कुनै उद्यममा आवद्ध भएर काम गर्दै आएका छन् ।

ADVERTISEMENT

महिलाहरुले स्थानीय स्रोत साधानको प्रयोग गरि उत्पादनमा लागेको महिला उद्यमी माया विकले बताउनुभयो । गाउँपालिकाले अघिल्लो वर्ष साबुन र सरफ बनाउने तालिम दिएपछि अहिले गाउँका महिलाहरु उत्पादनमा लागेको उहाँको भनाइ छ । विकले पहिले वन जंगलमा पुगेर घाँस दाउर गर्ने र पशुचौपाय पालन गर्दै आएको सुनाउँदै अहिले साबन उत्पादनमा बढी समय दिन थालेको विकले बताउनुभयो । पहिले दुई/चार पैसा आवश्यक पर्दा परिवारकै मुख ताक्नु परेको भन्दै अहिले आफै कमाउन सकिने भएको उहाँ बताउनुहुन्छ ।

“पहिले यस्तो सिप थिएन, अवसर पनि आएका थिएनौँ, गाउँपालिकाले महिला दिदीबहिनीका लागि ठूलो सहयोग गरेको छ, तालिम दियो, अरु धेरै सहयोग गरेपछि अहिले गाउँमा साबन उत्पादन हुन्छ, सरफ उत्पादन हुन्छ,” उहाँले भन्नुभयो - “पहिले एक हजार रुपैयाँ कमाउनका लागि पनि काम पदाइँदैनथ्यो, अहिले पहिलेको जस्तो समस्या छैन, बेरोजगार भए बस्नु पनि परेको छैन ।”

महिला उद्यमीले उत्पादन गरेका सामग्री प्रवर्द्धनका लागि गाउँपालिकाले सहयोग गर्दै आएका तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । गाउँपालिकाले वडा नम्बर ३ मा महिला उद्यमीका लागि भवनसमेत निर्माण गरिसकेको भन्दै उहाँहरुले उत्पादन गरेको खादा, दोसल्लालगायतका सामग्री गाउँपालिकाले विभिन्न कार्यक्रममा प्रयोग गर्दै आएको अध्यक्ष बुढा मगरको भनाइ छ । उत्पादित सामग्री विभिन्न स्थानसम्म पुर्‍याउनका लागि ढुवानीको व्यवस्था नव उद्यमीलाई थप तालिमको व्यवस्था गर्दै आएको उहाँ बताउनुहुन्छ ।

अध्यक्ष बुढा मगरले भन्नुभयो - “महिला दिदीबहिनीलाई आत्मनिर्भर बनाउनका लागि हामीहरुले सुरुको वर्षदेखि नै लगानी गर्दै आएका छौँ, तालिम दिएर सिप सिकाउनेदेखि उद्यम गर्न सहयोग गर्दै आएका थियौँ, अब उहाँहरुले उत्पादन गरेको वस्तुलाई बजारीकरण गर्न पनि साथ दिन्छौँ, सिपले उहाँहरुलाई आत्मनिर्भर बनाएको छ, अहिले उद्यम संचालन गरेर रोजगार सिर्जना त हुनेनै भयो आयआर्जनको माध्यम पनि बनेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?