काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलीले टेस्ट राष्ट्र आयरल्याण्डको ‘ए’ टोलीसँग क्रिकेट सिरिज खेल्ने भएको छ । मार्च २४ देखि अप्रिल ७ सम्म नेपालको भ्रमणमा रहने आयरल्याण्डको टोलीले सिनियर टोलीका साथै नेपाल ‘ए’ टोलीसँग समेत खेल्नेछ । सिनियर टोलीसँग दुई टी-२० खेल खेल्ने आयरल्याण्ड ‘ए’ टोलीले त्यसबाहेक नेपाल ‘ए’ टोलीसँग तीन-तीन एकदिवसीय र टी-२० खेल खेल्ने नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ ।
आइसिसी टी-२० विश्वकपको तयारीस्वरूप नेपालले यो सिरिज खेल्न लागेको हो । यसलगत्तै नेपाली टोलीले ३१ मार्चदेखि अप्रिल ७ सम्म भारतको गुजरात र बरोडासँग त्रिकोणात्मक सिरिज खेल्ने कार्यक्रम छ । त्यसपछि नेपालले एसिसी प्रिमियर कप खेल्नेछ ।
आयरल्याण्ड ‘ए’ ले मार्च २४ र मार्च २५ मा नेपाली राष्ट्रिय टोलीसँग दुई टी-२० खेल खेल्नेछ । त्यसपछि मार्च २८ देखि मार्च ३१ सम्म तीनवटा टी-२० सिरिज नेपाल ‘ए’ टिमविरुद्ध खेल्नेछ । यस्तै, अप्रिल ३ देखि अप्रिल ७ सम्म तीनवटा एकदिवसीय सिरिज हुनेछन् ।
नेपालको भ्रमणमा आउन लागेको आयरल्याण्डको टोली घोषणा भएको छ । क्रिकेट आयरल्याण्डले निल रकको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा सिनियर टोलीबाट खेलिसकेका नौ खेलाडी समावेश छन् । कप्तान निल रकसँगै ग्यारेथ डेल्नी, जेम्स मक्कोलम, पिटर मुर, रस अडेर, स्टेफन डोहेनी, फिओन हृयाण्ड, म्याथ्यु हम्फ्रिज र बेन हृवाइटले सिनियर टोलीबाट खेलिसक्नुभएको छ ।
आयरल्याण्डको टोलीमा निल रक (कप्तान), रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन हृयाण्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, जेम्स मक्कोलम, पिजे मुर, मोर्गन टपिङ र बेन हृवाइट हुनुहुन्छ । प्रशिक्षकमा रायन इगल्सन र सहायक प्रशिक्षकमा पिट जोन्सन र क्रिस ब्राउन हुनुहुन्छ ।
नेपालले पनि आइतबार नै हङकङ भ्रमणका लागि नेपाली टोलीको घोषणा गरेको थियो । रोहित पौडेलको कप्तानीमा घोषित टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी, सागर ढकाल नियमित हुनुहुन्छ । टोलीमा आकाश चन्द र लोकेश बमलाई बोलाइएको छ ।
प्रशिक्षक मोन्टी देशाईले दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललितनारायण राजवंशीलाई विश्राम दिनुभएको छ । नेपालले हङकङमा एक त्रिकोणात्मक सिरिजसहित हङकङसँग टी-२० आई खेल खेल्दैछ । मार्च ९ मा नेपाल र हङकङले फ्रेण्डसिप कपको नाममा एक टी-२० आई पनि खेल्नेछन् ।
मार्च १० देखि १३ सम्म भने टी-२० आई त्रिकोणात्मक सिरिजको खेल हुनेछ । नेपाल र हङकङले मार्च १० मा खेल्दा मार्च १२ मा पिएनजीले नेपाल र हङकङ दुवैसँग खेल्नेछ । मार्च १३ मा फाइनल हुनेछ । लिग तालिकामा तेस्रो हुने टोलीले हङकङ ‘ए’सँग टी-२० खेल खेल्नेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts