काठमाडौं । चुच्चेपाटीस्थित मनास्लु वल्र्ड कलेजले १९औँ एसियाली खेलकुदको कराँतेमा ऐतिहासिक पदक जित्न सफल एरिका गुरुङलाई सम्मान गरेको छ । मनास्लुले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा समाजमा महत्वपूर्ण योगदान गर्ने एरिकासहित विभिन्न क्षेत्रका पाँचजनालाई पनि सम्मान गरेको हो ।
एरिकाले गत असोजमा चीनको हाङझावमा भएको एसियाली खेलकुदमा रजत पदक जित्नुभएको थियो । एरिकाले जितेको रजत एसियाली खेलकुदको कराँतेमा कुनै पनि नेपाली खेलाडी जितेको पहिलो र एक मात्र रजत हो । एरिकाअघि तेक्वान्दोकी सविता राजभण्डारीले १९९८ को बैंकक एसियाड तथा पाराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीमा विमल गुरुङ, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाले २०१८ को इण्डोनेसियामा भएको एसियाली खेलकुदमा रजत जित्नुभएको थियो । हाङझाव एसियाडअघि एरिकाले इण्डोनेसियाको जकार्तामा भएको १०औँ विश्व सितोरियो कराँते च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको थियो ।
सोही अवसरमा गायिका कुन्ती मोक्तान, सञ्चारकर्मी जगदीश खरेल, शिक्षाकर्मी जयन्ती सत्याल अधिकारी र समाजसेवी बालकृष्ण बुर्लाकोटी पनि सम्मानित हुनुभयो । उहाँहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, मनास्लु वल्र्ड कलेजका अध्यक्ष गेन्द्र लामा, प्रधानाध्यापक राजन श्रेष्ठलगायतले एक कार्यक्रमबीच दोसल्लासहित प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता