काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का पुम्से विधातर्फ दोस्रो श्रेणीको रेफ्रीमा पदोन्नति हुनुभएको छ । वल्र्ड तेक्वान्दो (डब्लुटी) को रेफ्री कमिटीले अशोकलाई बिहीबार दोस्रो श्रेणीको प्रमाणपत्र प्रदान गरेको छ ।
तेस्रो श्रेणीबाट दोस्रोमा पदोन्नति हुन करिब पाँच वर्ष लागेको अशोकले जानकारी गराउनुभयो । तेक्वान्दोको र्याङकिङ प्रतियोगिता र रिफ्रेसर कोर्षमा सहभागिता जनाई प्राप्त गरेको अंकका आधारमा अशोक एक तह माथि उक्लन सफल हुनुभएको हो ।
तेस्रोबाट दोस्रो श्रेणीमा उक्लन कम्तीमा आठ अंक आवश्यक पर्दछ । करिब पाँच वर्षको अवधिमा दस पुम्से प्रतियोगिता र एक रिफ्रेसर कोर्षमा सहभागिता जनाएको जानकारी उहाँले गराउनुभयो । यसअघि अशोकले सन् २०२१ मा ग्यारोगी विधामा पनि दोस्रो श्रेणीको रेफ्रीको मान्यता पाउनुभएको थियो ।
अशोकले सन् २०२३ मा दक्षिण कोरियामा वल्र्ड तेक्वान्दो पुम्से च्याम्पियनसिप, किमुनयोङ कप, अस्ट्रेलियामा भएको अस्ट्रेलियन ओपन, प्रेसिडेन्ट कप, ओसियाना ओपन पुम्से च्याम्पियनसिप, बुल्गेरिया ओपन, सन् २०२२ मा चुनचुन कोरिया ओपन, सन् २०२० मा मेक्सिको ओपन, सन् २०१९ मा १३औँ दक्षिण एसियाली खेलकुद तथा डब्ल्युटी प्रेसिडेन्ट कप अस्ट्रेलिया र दक्षिण कोरियामा ४५औँ अन्तर्राष्ट्रिय पुम्से रिफ्रेसर कोर्ष २०२२ मा सहभागिता जनाइसक्नुभएको छ ।






