काठमाडौं । साहित्यिक पत्रकार संघ (सापस)ले ‘कविता यात्रा-२०८०’ मा सहभागी सर्जक एवं पत्रकारलाई सम्मान गरेको छ । काठमाडौंमा एक कार्यक्रमबीच विशिष्ट कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा स्रष्टाहरूलाई सम्मान अर्पण गरिएको हो ।
कार्यक्रममा गीतकार शोभित उप्रेती, सापसका पूर्वअध्यक्ष एवं सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरू प्रा.डा.गोविन्दमान सिंह कार्की, रामप्रसाद पन्त, विनोद नेपाल, नन्दु उप्रेती, सुवाषचन्द्र पौडेल, प्रद्युम्न जोशी, मुरारी सिग्देल, श्रीबाबु कार्की, रुद्र अधिकारी, नीता श्रेष्ठ, डा.बुनु दाहाल र नवीन शाही सम्मान गरिएको थियो ।
यस्तै गायक नवीन पौडेल, नरहरी प्रेमी र रितु कँडेल, बालनृत्यकार रञ्जना थपलिया, पत्रकार गोकर्णप्रसाद भण्डारी, चिरञ्जीवी मास्के, जीवन लामा र पुष्पा थपलिया तथा समाजसेवी रुद्र थपलियालाई सम्मान गरिएको हो । सापसले गत पुस ४-६ गतेसम्म शैलुङमा आयोजना गरेको कविता यात्रामा उहाँहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, विशिष्ट अतिथिहरू शोभित उप्रेती र अधिवक्ता दिनेश त्रिपाठी र समाजसेवी नवीन शाहीलगायतले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
कविता यात्राका सहभागी सर्जकहरूले पनि आ-आफ्नो अनुभव र कविता यात्राको चर्चा, रचना वाचन र गीत गाउनु भएको थियो । कार्यक्रममा कविता यात्राले शैलुङमा थप सांस्कृतिक जागरण ल्याएको अनुभव व्यक्त गरिएको थियो । कविता यात्रामा दोलखाको चरणावतीधामको दर्शन, शैलुङको थुम्कामा साहित्य विमर्श, कवि गोष्ठी एवं नृत्य र कालापानीमा ‘स्रष्टा घर’को शिलान्यास र भैंसेमा कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । बाह्र हजार फिटको उचाइमा सामुहिक कविता वाचन गरिएको यो पहिलो रहेको मानिन्छ ।
कविता यात्रामा क्रममाशैलुङमा स्रष्टा घर निर्माण गर्नको लागि शिलान्यास पनि गरिएको थियो । घर निर्माण गर्न जग्गा र निर्माणका लागि लगानी तथा कविता यात्राको लागि वातावरणसमेत बनाउन सहयोग गर्नु भएकोले समाजसेवी एवं गीतकार शोभित उप्रेतीलाई सम्मान गरिएको चर्चा संघका अध्यक्ष राधेश्याम लेकालीले गर्नुभयो ।
स्रष्टाहरूलाई देश दर्शन गराउने तथा मोफसललाई केन्द्रसँग जोडने र केन्द्रलाई मोफसलसम्म पुर्याउने उद्देश्यसहित सो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष लेकालीको भनाइ थियो । २०३९ सालदेखि संघले कविता यात्राको आयोजना गर्दै आएको छ । दोलखाकै जिरीलगायत ठाउँमा संघले २०४२ सालमा पनि कविता यात्राको आयोजना गरेको थियो भने अगिल्लोपटक इलाममा आयोजना गरिएको थियो ।
दोलखामा आयोजना गरिएको कविता यात्रामा दोलखाका अन्य सर्जक, पत्रकार र स्थानीयहरूको पनि सहभागिता थियो भने शैलुङ गाउँपालिका-८ पनि स्थानीय आयोजकको रूपमा रहेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements