काठमाडौं । धनगढी एफसीले नेपाल सुपर लिगको दोस्रो संस्करणमा लगातार दोस्रो जित हात पारेको छ । ओलावाले अफिज इन्ज्युरी समयमा निर्णायक गोल गर्दा धनगढीले बिहीबार बुटवल लुम्बिनी फुटबल क्लबलाई १-० गोलअन्तरले पराजित गरेको हो ।
दशरथ रंगशालामा बिहीबार साँझ सम्पन्न खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीबाट कुनै गोल भएको थिएन । तर, इन्जुरी समयमा ओलावालेले अफसाइड ट्रयाप बिट गर्दै गोलरक्षकको खुट्टा मुनिबाट बललाई पोस्टको दिशा दिनुभयो । यो धनगढीको लगातार दोस्रो जित हो । यसअघि धनगढीले वीरगञ्ज यूनाइटेड एफसीलाई पराजित गरेको थियो । दोस्रो जितसँगै धनगढी शीर्ष स्थानमा उक्लिएको छ । धनगढी २ खेलमा ६ अंकसहित शीर्षस्थानमा उक्लँदा बुटवल बिना कुनै अंक पुछारमा छ ।
दोस्रो हाफमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गर्नुभएका ओलावालेले धनगढीका लागि निर्णायक गोल गर्नुभएको थियो । खेलमा पटक पटक धनगढीले गरेका प्रहारहरु सफल हुन सकेका थिएनन । चार विदेशी खेलाडी मात्र पहिलो रोजाइमा उतारेको धनगढीका लागि गोलरक्षक मोहमद ताहाको प्रदर्शन उत्कृष्ट रह्यो । उहाँ खेलको म्यान अफ द म्याच रहनुभयो ।
२५ औं मिनेटमा आशिष चौधरी र अहमद हिजाजीको सहकार्य हुन नसक्दा आशिषले ६ यार्ड बक्स नजिकबाट दिएको अन्तिम लो क्रसमा हिजाजीको प्रहार पोस्टमा लाग्दै बाहिरियो । ४० औं मिनेटमा बुटवलका स्टेफेन बिनोङको प्रहारलाई ताहाले पन्च गर्नुभयो ।
६८ औं मिनेटमा धनगढीका हिजाजीलाई गोलरक्षक ममडुले पेनाल्टी क्षेत्र बाहिर लडाएपनि रेफ्रीले पेनाल्टी दिनुभएन । रिप्लेमा भने उक्त ट्याकलमा पेनाल्टी दिनुपर्ने देखिएको थियो । ७४ औं मिनेटमा ओलावाले आफिजले मैदान छिर्नुभएको थियो । त्यसको तेस्रो मिनेटमा गोल उहाँले डिफेन्डरको दबाबका बीच वन भर्सेस वनमा गरेको प्रहार पोस्टभन्दा थोरैमाथिबाट बाहिरियो । लिग अन्तर्गत शुक्रबार वीरगन्ज युनाइटेड फुटबल क्लब र चितवन फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।






