चाडपर्व सकिएपछि सुनसान बन्न थाले गाउँघर

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । अध्ययन, रोजगार तथा विभिन्न कामले बजारमा बस्दै आएकाहरु दसैँमा गाउँ आएका थिए । दसैँ तिहार सकिएपछि बजार फर्किनको संख्या निकै ठूलो छ । तिहार सकिए लगत्तै धमाधम बजार झर्न थालेपछि गाउँ सुनसान बन्न थालेका छन् । बागलुङको ग्रामीण क्षेत्रका अधिकांश स्थानीय बुटवल, चितवन, पोखरा, काठमाडौं, बागलुङलगायतका देशका मुख्य ठूला सहरमा पुग्ने गर्दछन् । हिजोआज गाउँमा बस्नेको संख्या निकै न्यून छ ।

यो खेतीपातिको सिजन भएको हुँदा दसैँ तिहार मनाउन गाउँ आएकाहरुले गर्दा बाली स्यार्न सहज भने भयो । चाडपर्वले वर्षौँदेखि टाढा आफन्तलाई नजिक बनाउने गर्छ । दसैँ सुरु हुँदा गाउँ आएका आफन्तले केही दिन निकै रमाइलो भए पनि उनीहरु अहिले बजार फर्किन थालेपछि सुनसान बन्न थालेको निसीखोला गाउँपालिका-४ मा प्रितम क्षेत्रीले बताउनुभयो । उहाँले सेवा सुविधा खोज्दै अधिकांश बजार झर्दा गाउँमा बुढापाका र बालबालिका मात्रै रहेको बताउनुहुन्छ ।

“तिहारको दिनसम्म गाउँ घरमा जता गए पनि आफन्त भेटिन्थे, तिहार सकिएपछि वरपरका छरछिमेकी सबै बजार झरे, दसैँ तिहार मनाउन विदेशबाट बिदा लिएर आएकाहरु पनि फर्किए, गाउँमा बस्ने त उही गरिब मात्रै भयो” क्षेत्रीले भन्नुभयो-“दसैँले गाउँमा धेरै उत्साह लिएको थियो, सबैलाई भेट गराएको थियो, तिहारको भोली पल्टदेखिनै सबै आ-आफ्नो गन्तव्य तिर लागेपछि गाउँ उराठलाग्दो बनेको छ, यसपाली चाडपर्व अलि ढिला आएको हुँदा गाउँ आएकाहरुले खेतबारीको काममा सहयोग गरे ।”

ADVERTISEMENT

बागलुङका धेरै जसो ठाउँबाट तराई झरेकाको संख्या निकै ठूलो छ । उनीहरुको आफन्तजन भने गाउँमा छन् । बसाइँसराइ गरेर तराई झरेकाहरु दसैँ तिहार र कुल पूजाका लागि गाउँ उक्लिने गर्छन् । दसैँ तिहार भरी गाउँमा चहलपहल भए पनि अहिले घरहरु खाली हुँदै गएको स्थानीय धनबहादुर घर्ती मगरले बताउनुभयो । उहाँले आफ्नो गाउँमा दसैँ तिहार मनाउनका लागि बजार तथा तराईबाट झण्डै ५०० जना आएको सुनाउँदै अहिले सबै फर्किएको बताउनुभयो ।

गाउँमा रोजगारको राम्रो अवसर र सेवा सुविधा नहुँदा धेरैले सहर बजार र सुविधा सम्पन्न ठाउँ खोज्ने घर्ती मगरको भनाइ छ । एक दशक अगाडिसम्म निसीखोलाका अधिकांश गाउँमा मान्छेले खेतीपाती गरेरै जीवन निर्वाह गरे पनि अचेल हुने खानेहरु सबै बजार झरेको बताउनुहुन्छ । धेरैको रोजाई सहर हुँदा गाउँका खेतीयोग्य जमिन वनमारामा परिणत हुँदै गएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

उहाँ भन्नुहुन्छ- “हामी सानोसानो हुँदा गाउँबाट एक/दुई जना विदेश जाने गर्थे, तर अहिलेको जस्तो बसाइँसराइ गरेर बजार झर्ने चलन थिएन, चाडपर्वको बेला लाहुरे मात्रै गाउँ आउँथे, अहिले त बजार झरेकाहरु पनि आउँछन्, विदेश र बजारबाट गाउँ फर्कनेहरुले एक महिना जति गाउँ रमाइलो भयो, जतागयो उतै आफन्त भेटिन्थे, अहिले त सबै फर्किन थार्ले, गाउँमा उही बजार झर्न नसक्ने अवस्था भएका मात्रै बस्छन्, पहिले मान्छे घुम्नका लागि बजार जान्थे, अहिले बजारबाट गाउँ आउँछन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *