काठमाडौं । नेपालका कविर केसी र अभय महरा काठमाडौंमा जारी ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिपको यू-१७ पुरुष युगलतर्फ रजतमै सीमित हुनुभएको छ । ब्याडमिन्टन एसियाको आयोजनामा भएको च्याम्पियनसिपको फाइनलमा कविर र अभयको जोडी बंगलादेशका रजोन मिया र एसएसएम सिफत उल्लाहसँग २१-११, २१-११ को सोझो सेटमा पराजित हुनुभएको हो ।
नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा भएको च्याम्पियनसिपको यू-१७ को पुरुष एकलतर्फ पनि बंगलादेशका एसएसएम सिफत उल्लाहले स्वर्ण हात पार्नुभयो । पुरुष युगलमा स्वर्ण जितेका उल्लाहले एकलमा श्रीलंकाका थिदासा वेरागोडालाई २१-१६, १२-२१, २१-१७ ले पराजित गर्दै च्याम्पियनसिपमा दोस्रो स्वर्ण हात पार्नुभयो ।
महिला एकलतर्फ श्रीलंकाकी रनिथमा लियांगेले आफ्नै देशका रनुमी मनागेलाई २१-६, २१-८ ले पराजित गर्दै स्वर्ण हात पार्नुभयो । महिला युगलतर्फ पनि रनिथमाले रनुमी मनागेसँग मिलेर अर्को स्वर्ण जित्नुभयो । उक्त जोडीले माल्दिभ्सका ऐसत जोया हुसैन र मोहम्मद सरिफ सैबाको जोडीलाई २१-६, २१-६ को समान अन्तरले पराजित गर्दै स्वर्ण जित्नुभएको हो ।
मिक्स युगलतर्फ श्रीलंकाका थिदासा वेरागोडा र रनिथमा लियांगेको जोडीले आफ्नै देशका हिरूका अलुथ पतबेदांगे र रनुमी मनागेको जोडीलाई २१-१४, २१-१६ ले पराजित गर्दै स्वर्ण हात पार्नुभयो ।
सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्डहलमा भएको च्याम्पियनसिपको यू-१५ तर्फ महिलाको एकलमा श्रीलंकाकी नेथमी रत्नायकले श्रीलंकाकै सिथुली रनसिंघलाई २१-१३, २१-१० ले पराजित गर्दै उपाधि जित्नुभयो । नेथमीले मिक्स डबल्समा सेनुथ सेथमिता पेरेरासँग मिलेर आफ्नै देशका केनिथ अरुगोडा र सिथुली सनसिंघलाई २२-२०, २१-१२ ले पराजित गर्दै आफ्ना लागि अर्को स्वर्ण हात पार्नुभयो ।
पुरुषतर्फ बंगलादेशका वाली उल्लाहले बंगलादेशकै मोस्तकीम होसेनलाई २१-१५, २१-१५ को समान अन्तरले पराजित गर्दै स्वर्ण हात पार्नुभयो । मिक्स डबल्समा स्वर्ण जित्नुभएका सेनुथ सेथमिता पेरेराले पुरुष युगलतर्फ केनिथ अरुगोडासँग मिलेर बंगलादेशका मोस्तकीम होसेन र वाली उल्लाहलाई २१-१५, १९-२१, २३-२१ ले पराजित गर्दै आफ्ना लागि दोस्रो स्वर्ण जित्नुभयो ।
महिला युगलतर्फ पनि श्रीलंकाका सिथुली रनसिंघ र नेथिम रत्नायकेले स्वर्ण जित्नुभयो । उक्त जोडीले नेपालका दिलाशा राना र रिहाना शेरचनलाई २१-१२, २१-४ ले पराजित गर्दै स्वर्ण हात पार्नुभएको हो । श्रीलंकाले यस च्याम्पियनसिपमा मिक्स टिम इभेन्ट्सका दुईसहित नौ स्वर्ण हात पारेको छ । यस्तै, बंगलादेशले तीन स्वर्ण हात पारेको छ ।
विजयी खेलाडीहरूलाई ब्याडमिन्टन एसियाको डिभलोपमेन्ट चेयर वाजिद अली चौधरी, नेपाल ब्याडमिन्टन संघ तदर्थ समितिका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, सशस्त्र प्रहरी बलमा अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक चन्द्रप्रकाश गौतमलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।






