काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को पाँचौँ कार्यसमिति बैठकको निर्णय शुक्रबार राती सार्वजनिक गरिएको छ । दिउँसो १ बजे सुरु भएको बैठक राती साढे १० बजे सकिएको थियो । लगत्तै सार्वजनिक निर्णयमा देशका तीन स्थानमा एन्फा महिला एकेडेमी सञ्चालन गर्ने गरी आगामी कार्यसमितिमा बजेट, कार्यक्रम तयार गरी पेश गर्ने निर्णय गरिएको छ ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको अध्यक्षतामा बसेको बैठकले साफ यू-१९ च्याम्पियनसिप असोज ४ देखि १३ गतेसम्म काठमाडौंमा आयोजना गर्ने र प्रतियोगिताको बजेट एक लाख ९८ हजार अमेरिकी डलर पारित गरेको छ । प्रतियोगिताको टिकेटिङ अधिकारका लागि न्यूनतम १५ लाख कायम गर्दै १५ दिने सूचना जारी गर्ने निर्णयसमेत गरेको छ । प्रतियोगिताका लागि साधारण र भिआइपीतर्फ क्रमशः १०० र ३०० रुपैयाँ टिकट दर तय गर्ने र उक्त प्रतियोगिताको संयोजन गर्न संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
यस्तै, जिल्ला लिग, शहीद स्मारक ‘बी’ तथा ‘सी’ डिभिजन लिग, महिला लिग एवं अन्य प्रतियोगिताको खेल नियमावली परिमार्जनसहित पारित गर्ने, महिला फेञ्चाइज लिगको बोर्डकास्टिङ र डिजिटल राइट्स नेपाल स्पोर्ट्स सेन्टर प्रालिलाई तथा फुटसल लिगको मार्केटिङ, बोर्डकास्टिङ र डिजिटल राइट्स डिजिफ्ल्याई ब्राण्डिङ एजेन्सी प्रालिलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
त्यसबाहेक गत मार्चमा आयोजना भएको थ्रि नेसन कप २०२३ मा विजेता भएबापतको रकम पाँच हजार डलर राष्ट्रिय टिमका खेलाडीहरूलाई दामासाही रूपमा वितरण गर्ने, संघको विशेष साधारणसभा भदौ २४ गते तथा नियमित साधारणसभा २०८० असोज २९ गते आयोजना गर्ने निर्णय गरेको छ ।
महेन्द्र क्षेत्री संयोजक र सुरेश शाह सदस्य रहने गरी खरिद समिति गठन गरिएको छ । राष्ट्रिय फुटबल टोलीमा खेलका दौरान घाइते भएका राष्ट्रिय खेलाडीहरूको उपचार गर्दाको बिलअनुसारको सम्पूर्ण खर्च संघले भुक्तानी गर्ने निर्णय गरिएको छ । एन्फा कर्मचारी संरचना तथा सांगठनिक संरचना निर्माण गरी कार्यसमितिमा पेश गर्न सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।
यस्तै, राष्ट्रिय टिम (महिला तथा पुरुष) को समान पुरस्कार सम्बन्धमा सचिवालयले अध्ययन गरी निर्णय गर्ने निर्णय भएको छ । महिला राष्ट्रिय टिमको नकआउट प्रतियोगिता सञ्चालन गर्न सचिवालयमार्फत् बजेट तथा अन्य कार्यक्रम आगामी बैठकमा पेश गर्ने निर्णय गरिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता