हरारे । दुईपटकको विश्वकप विजेता वेस्टइण्डिज आइसिसी विश्वकप छनोट २०२३ मै रोकिएको छ । सुपर सिक्सको पहिलो खेलमै स्कटल्याण्डसँग सात विकेटले पराजित हुँदै दुईपटकको एकदिवसीय विश्वकप विजेता वेस्टइण्डिज घर फर्किएको हो ।
समूह चरणमा नेपाल र वेस्टइण्डिज एउटै समूहमा थिए । वेस्टइण्डिज इतिहासमै पहिलोपटक विश्वकपमा पुग्न नसकेको हो । जितका लागि १८२ रनको मध्यम लक्ष्य स्कटल्याण्डले ४३.३ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
स्कटल्याण्डको जितमा विकेटकिपर म्याथ्यु क्रसले १०७ बलमा सात चौकासहित ७४ रनमा नट आउट पारी खेल्नुभयो । यस्तै, ब्रेन्डन म्याकमुलेनले १०६ बलमा आठ चौका र एक छक्कासहित ६९ रन बनाउनुभयो । दोस्रो विकेटका लागि म्याकमुलेन र क्रसले १२५ रनको शतकीय साझेदारी गर्नुभएको थियो ।
त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइण्डिज ४३.५ ओभरमा १८१ रनमा अल आउट भएको थियो । वेस्टइण्डिजका जेसन होल्डरले ७९ बलमा तीन चौका र एक छक्कासहित ४५ रन बनाउनुभयो । रोमारियो शेफर्डले ४३ बलमा पाँच चौकासहित ३६ रन बनाउनुभयो ।
ब्रेन्डन किङ २२ बलमा पाँच चौकासहित २२ रनमा आउट हुनुभयो । स्कटल्याण्डका ब्रेन्डन म्याकमुलेनले नौ ओभरमा ३२ रन खर्चेर तीन विकेट तथा क्रिस सोलले नौ ओभरमा ४३ रन खर्चेर दुई विकेट लिनुभयो ।
स्कटल्याण्ड तीन खेलमा दुईमा जित र एकमा हारसहित तेस्रो स्थानमा छ । स्कटल्याण्डले मंगलबार जिम्बाबे र बिहीबार नेदरल्याण्ड्ससँग खेल्नेछ । यी दुवै खेलमा विजयी भएमा विश्वकपको सम्भावना रहन्छ । एजेन्सी ।






