नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका-४ स्थित फुङफुङे झरनामा यही असार १० गते आइतबार क्यानोनिङ मेला हुने भएको छ । सोही झरनामा असार ३ देखि १० गतेसम्म स्थानीयलगायत पर्वतीय पर्यटनमा कार्यरत पथप्रदर्शकहरूको २५ जना युवा-युवतीका समूहले परिचयात्मक क्यानोनिङ गाइड तालिम पनि लिइरहेका छन् ।
नेपाल पर्यटन बोर्डको प्रायोजन, ककनी गाउँपालिकाको आयोजना र नेपाल क्यानोनिङ संघको सह-आयोजनामा कार्यक्रम हुन लागेको हो । तालिमलगत्तै १० गते क्यानोनिङ महोत्सव कार्यक्रम हुने आयोजकले बताएका छन् । काठमाडौंदेखि करिब २८ किमी दूरीमा रहेको ककनी राजधानी नजिकको पर्यटकीय गन्तव्य हो ।
ककनी सेरोफेरो साहसिक गतिविधिमा रमाउन चाहने आन्तरिक तथा बाहृय पर्यटकका लागि उपयुक्त स्थल रहेको नेपाल क्यानोनिङ संघका अध्यक्ष राजेन्द्र लामाले बताउनुभयो । साहसिक खेल मन पराउनेहरूलाई ककनीको सेरोफेरोमा रहेको फुङफुङे, सिस्नेरी, जलजले, लौके, सानछहरे, ठुलछहरे, महभिरलगायतका झरनाहरूमा हप्तौं दिनसम्म क्यानोनिङको मजा लिन सकिनेसमेत उहाँले जनाकारी दिनुभयो ।
पछिल्लो समय ककनी साहसिक पर्यटकीय गन्तव्यको केन्द्रका रूपमा विकसित हुँदैछ । यहाँ लोकल उत्पादन जस्तै ट्राउट माछा, स्ट्रबेरी, हरियो सागसब्जी प्रशस्त उब्जनी हुन्छ । पर्यटकहरूले स्थानीय लोकल परिकार सेवन गर्दै अन्नपूर्ण, मनास्लु, गणेश हिमाल, लाङटाङ, जुगल, दोर्जेलाक्पालगायत दर्जनौं हिमालको अवलोकन पनि गर्न सक्छन् ।
क्यानोनिङ एक साहसिक खेल ‘एड्भेन्चर स्पोर्ट्स हो । जसलाई तालिमप्राप्त अनुभवी व्यावसायिक गाइड र उपयुक्त सुरक्षित उपकरणहरुको आवश्यकता पर्दछ । क्यानोनिङ डोरीको सहयोगमा तुर्लुंग झुण्डिएर झरनामा भिज्दै, छाँगामा चिप्लिँदै र दहमा पौडिँदै खेलिने साहसिक खेल हो । यसका लागि झरनाको शिरमा एंकर गाडिन्छ, त्यसमा डोरी अड्काइन्छ । गाइडको निर्देशनमा त्यही डोरी समातेर पानीमा रुझ्दै तल झर्नुपर्छ । नेपालको झरनामा खेल अभ्यास हुन थालेपछि क्यानोनिङलाई नेपालीमा ‘छाँगावरोहण’ पनि भनिन्छ ।
क्यानोनिङ गर्दा आँट, दिमाग र धैर्यता चाहिन्छ जसका लागि विशेष पोशाक र जुत्ता लगाइन्छ । हार्नेस लगाएर फिगरएट, क्याराभेनर र जुमरको सहायताले डोरीबाट ओर्लिने गरिन्छ । फिगरएटले डोरीलाई सघाउँछ, क्याराभेनर डोरी र कम्मरमा बाँधिन्छ ।
खेलाडीको हातमा ब्रेक हुन्छ जसले आफ्नो गति नियन्त्रण वा झरनामै रोकिएर भिझ्दै रमाइलो गर्न क्यानोनर आफैंले ब्रेक लगाउन सक्छ । क्यानोनिङ गर्नुअघि गाइडद्वारा कसरी खेल्ने भनेर सिकाइन्छ । जब डोरी समातेर ओर्लिन सुरु हुन्छ, सुरुमा केही डर हुन्छ, विस्तारै आत्मविश्वास बढ्छ । रोमाञ्चक अनुभूति मिल्दछ । फेदमा पुगेपछि सफलता हासिल गरेकाले चरम आनन्दको महसुस हुन्छ ।
नेपाल क्यानोनिङ एसोसिएसन (एनसिए)का अध्यक्ष राजेन्द्र लामाका अनुसार अमेरिका, युरोप र एसियाका विभिन्न देशमा यो खेललाई ‘एडभेन्चर हिलिङ’ का रूपमा प्रवद्र्धन गरिएको छ । उहाँले भन्नुभयो, ‘क्यानोनिङले तनावबाट मुक्ति, आत्मविश्वास बढाउँछ र पानीको बहावले आनन्द मिल्छ ।’
एनसिएले नेपालका करिब चार दर्जन झरनामा क्यानोनिङको सम्भाव्यता अध्ययन गरिसकेको छ । काठमाडौंको सुन्दरीजल, नुवाकोटको ककनी, कास्कीको ल्वाङ र घलेल, लमजुङको मस्र्याङ्दी भ्याली, काभ्रेको तेमाल, सिन्धुपाल्चोकको भोटेकोशी, धनकुटाको नमस्ते झरना, चितवनको जलजले, ओखलढुंगाको पोकली, धादिङको थाक्रेलगायतका झरनाहरूमा सम्भाव्यता अध्ययन गरिसकेको छ । त्यसबाहेक स्याङ्जा, पर्वत, मनाङ र सोलुमा पनि क्यानोनिङको सम्भावना रहेको उहाँ बताउनुहुन्छ ।
झरनै झरनाको देश नेपालमा क्यानोनिङ खेलको प्रचुर सम्भावना रहेको लामा बताउनुहुन्छ । क्यानोनिङको विकास गर्न सके नेपालका गाउँ-गाउँमा पर्यटनको माध्यमद्वारा युवाहरूलाई रोजगार प्रदान गरी मनग्य आम्दानी गर्न सकिन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा