काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको टेस्ट संरचनाको जय ट्रफी मेन्स एलिट कप-२०८१ आज (आइतबार)देखि जनकपुर र वीरगञ्जमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल जनकपुरको रजौलस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय रंगशालामा मधेश प्रदेश र बागमती प्रदेशबीच हुने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेले जानकारी गराउनुभयो ।
प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कपका शीर्ष चार स्थानमा रहेका मधेश प्रदेश, बागमती प्रदेश, नेपाल पुलिस क्बल र त्रिभुवन आर्मी क्बलकोे सहभागिता रहनेछ । मधेश प्रदेशका दुई ठूला शहरमा पहिलोपटक हुन लागेको राष्ट्रियस्तरको प्रतियोगिता जय ट्रफीलाई लिएर क्रिकेटप्रेमी उत्साहित देखिएका छन् ।
जनकपुरमा पहिलो खेल मधेश र बागमती प्रदेशबीच हुनेछ भने दोस्रो खेल बागमती र आर्मी तथा तेस्रो खेल बागमती र पुलिस क्लबबीच हुनेछ । त्यस्तै, वीरगञ्जमा पहिलो खेल आर्मी र पुलिस, दोस्रो खेल मधेश र पुलिस तथा तेस्रो खेल मधेश र आर्मीबीच हुनेछ ।
लिग चरणका खेल दुईदिवसीय र फाइनल तीनदिवसीय हुने जनाइएको छ । जय ट्रफीका लागि जनकपुरको रजौलस्थित रामजानकी रंगशाला र वीरगञ्जको नारायणी खेल मैदान तयारीको काम पूरा भएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । रातो बल र सेतो जर्सीमा खेलाइने प्रतियोगिता पुस २१ गतेदेखि माघ ३ सम्म सञ्चालन हुनेछ ।
विनोदको कप्तानीमा आर्मीको टोली
नेपाल आर्मी क्लबले विनोद भण्डारीको कप्तानीमा जय ट्रफी एलिट कप दुईदिवसीय क्रिकेट खेल्ने टोली घोषणा गरेको छ । आर्मीको टोलीमा अधिकांश राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी समेटिएका छन् । टोलीमा भीम सार्की, साहब आलम, सुमित श्रेष्ठ, सोमपाल कामी, पवन कार्की, आकाश चन्द, सन्तोष कार्की, इमरान शेख, त्रितराज दास, बसिर अहमद, विवेककुमार यादव, नरेन साउद, दुर्गेश गुप्ता र कुशल मल्ललाई राखिएको छ ।
आरिफको कप्तानीमा पुलिस क्लब
नेपाल पुलिस क्लबले आरिफ शेखको कप्तानीमा जय ट्रफी एलिट कप दुईदिवसीय क्रिकेट खेल्ने टोली घोषणा गरेको छ । नियमित कप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरी उपलब्ध नहुने भएपछि पुलिसले आरिफलाई कप्तानीको जिम्मा दिएको हो । दीपेन्द्र आइएल टी–२० क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्स (युएई) जाने हुनुभएको हो । टोलीमा आरिफसँगै राष्ट्रिय टोलीका कुशल भुर्तेल, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा, अर्जुन साउद र सागर ढकाल हुनुहुन्छ । यस्तै, रशिद खान, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनिल दौल्यान, शंकर राना, अभिनाश कर्ण र दिपक सेरेलालाई टोलीमा समेटिएको छ ।
सन्दीपको कप्तानीमा बागमतीको टोली
जय ट्रफी मेन्स एलिट कप-२०८१ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ । टोलीमा सन्दीपसहित सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम रहनुभएको छ । त्यस्तै, इशान पाण्डे, विपिन आचार्य, शुभ कंसाकार, रोशन विक, सूर्यांशु कोइराला, नन्दन यादव, प्रतीक श्रेष्ठ र तिलकराज भण्डारी पनि टोलीमा समेटिनुभएको छ ।
हरिशंकर साहको कप्तानीमा मधेश प्रदेश
मधेश प्रदेश आफ्नै क्षेत्रमा हुन लागेको जय ट्रफी खेल्दैछ । मधेशको कप्तानमा राष्ट्रिय टिमबाट खेलिसक्नुभएका हरिशंकर साह हुनुहुन्छ । मधेशमा यू-१९ टोलीका अभिषेक तिवारी पनि हुनुहुन्छ । अन्य खेलाडीमा रूपेश सिंह, मयन यादव, निरजकुमार यादव, साहिल पटेल, भुलावना साहनी, विशाल पटेल, रञ्जित कुमार, राजेश यादव, प्रदिप पासवान, अफ्रुदिन रेइन, हिमांशु दत्त, राहुल मण्डल र शैलेन्द्र शाह रहनुभएको छ ।
मधेशका लागि कप्तान हरिशंकर आफैं टप अर्डरमा रहँदा मयन यादव र साहिल पटेलले पनि टप अर्डरमा खेल्नुहुनेछ । मिडल अर्डरमा अभिषेक तिवारी, हिमांशु दत्त, रूपेश सिंह विकल्प हुन सक्नुहुन्छ । बलिङमा रञ्जित कुमार, राजेश यादव, रूपेश सिंह, प्रदिप पासवानलगायतका विकल्प हुनुहुनेछ ।
राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको एपिएफ भने शीर्ष चारमा नपर्दा जय ट्रफी खेल्न नपाउने भएको छ । जसले गर्दा रोहितसहित आसिफ शेख, लोकेश बम, सन्दिप जोरा जस्ता खेलाडी जय ट्रफीमा देखिनुहुने छैन । यसैगरी आइएल टी-२० क्रिकेट खेल्न गएकाले नेपाल पुलिसका कप्तान दीपेन्द्र सिंह ऐरीले पनि जय ट्रफी गुमाउनुहुनेछ । दीपेन्द्र नहुँदा आरिफ शेखले पुलिसको कप्तानी गर्दै हुनुहुन्छ ।
चोटका कारण मधेशका दुई प्रमुख खेलाडी अनिलकुमार शाह र पवन सर्राफ पनि जय ट्रफीमा देखिनुहुने छैन । प्रधानमन्त्री कपमा मधेशलाई शीर्ष चारमा पुर्याउन अनिल र पवनले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । मधेशले हरिशंकर शाहको कप्तानीमा जय ट्रफी खेल्नेछ । यस्तै, आर्मीको कप्तानी विनोद भण्डारी र बागमतीको कप्तानी सन्दीप लामिछानेले गर्दै हुनुहुन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा