✍️ सुरेशकुमार भट्ट
एउटा गाउँमा आमा र छोरामात्र बस्थे । त्यही एउटा छोरा साधुराम पनि लठेब्रो थियो तर सम्पत्ति अथाह थियो । सम्पत्ति चोर्नेको सन्तान लाटो लठेब्रो सुस्त हुन्छन् पनि भन्थे । त्यसैको परिणाम हो सम्पत्ति अलल्ले सन्तान लठिब्रे भनेर कुरा काट्नेको मुख कल्ले थुन्ने र ? तर आमा अति चलाख र फुर्तिली थिइन् । कुनै छोरा मान्छेभन्दा कम्ता थिइनन् । गाउँघरमा सुब्दार्नीको हाँकोडाँको कसैको भन्दा कम थिएन । सम्पत्ति देखेर छोरालाई छोरी दिन आउने र खबर पठाउने प्रसस्तै भए ।
उनले पनि कुलघरान र केटीको शिलस्वभाव हेरेर चार वर्षअघि छोराको विवाह गरिदिइन् । यसबीचमा एउटा नाति पनि जन्मियो । सुत्केरी भएको एक वर्षपछि मात्र बुहारी माइत पठाइन् । माईती घर गएको छ महिना भयो । नातिको पनि न्यास्रो लाग्यो । बुहारी भए आफूलाई साथी पनि हुने भनेर छोरालाई ससुराली स्वास्नी लिन जा भनिन् । साधुराम पनि स्वास्नी लिन जान तयार भयो ।
साधुरामले भन्यो ‘म ससुराली जान त जान्छु तर मलाई डर लाग्छ । बाटोमा वन छ, कसरी ? के गरी जाने आमा ? ससुरालीमा गएर के भन्ने ? मलाई थाहा छैन । वनको बाटोमा डरलाग्यो भने ‘अ ह ह हा हुई गर्दै जानू । ससुरालीमा पुगेपछि ससुरा बाले जे भने नि बेसै छ, बेसै भयो भन्नू । नराम्रो केही नभन्नु । आमाले सिकाइन् । भोलिपल्ट ‘मत दुलही लिन आएको ससुरा बा पठाइदिनू’ भन्नू । ल जा ससुराली’ भनेर सिँगारपटार गरेर पठाइन् सुब्दार्नीले छोरालाई ।
ससुराले घर गृहस्थीका दुःखसुखका कुरा गर्नथाले । बात मार्दै जाँदा धेरै दुःखसुखका कुरा हँुदैगए । जुवाइँ सुनिरहे । मुन्टो हल्लाए । ‘बेसै भो’ भन्दै गए । ससुराले के गर्नि जुवाइँ यसपालि दसा लाग्ने वर्ष रहेछ हलको गोरु पनि म¥यो भने उसले ‘बेशै भो’ भन्यो ।
साधुराम जाँदै गर्दा वनको बाटोमा पुग्यो । अलिबेर हिँडेपछि डर लाग्दै गयो । अनि आमाले भनेको सम्झेर डरले ‘अ ह ह हा हुई ?’ गर्दै गर्दै गयो । त्यही वनमा एउटा शिकारीले मृगलाई शिकार गर्न लगेको बेलामा हल्लाले मृग भागिहाल्यो । मृग भागेकोले रिसले चुर भएर शिकारी बाटोमा निस्केको त एउटा लठेब्रो कराउँदै गएको देखेर नजिकै गएर दुबै गालामा चड्काई दिइहाल्यो । खाइस्कि तँलाई मेरो शिकार भगाएको सजाय यही हो लोखा भनेर फेरि एक लबेटा पिठ्युमा बसालेर ‘अब गइहाल’ भन्यो । साधुराम पनि त्यहाँबाट रुँदैरुँदै गइरहेको थियो । वनको बाटो पनि सकियो । रुँदै गइरहेको देखेर उताबाट आइरहेका जन्तीलाई मन परेन ।
जन्तीले भने ‘अई हाम्रो यस्तो रमाइलोमा रुने ?’ भनेर एउटाले थप्पड दिइहाल्यो । ‘म के गर्ने त नि ?’ भनेर रुँदै भन्यो । जन्तीले भने हा हा हा हा आ ? हा हा गरेर हाँस्तै जा भने ।
साधुराम पनि त्यसैगरी अहा हा हा गर्दै हाँस्दै अलि पर पुगेको थियो । उताबाट लाश लिएर मलामीहरू आइरहेका रहेछन् । जब मलामी नजिक साधुराम पुग्यो । मर्नेको छोरालाई साफ रिस उठेछ र भन्यो ‘अई ढेब्रे लठेब्रे तँ के भनेर हाँसिस ? हाम्री आमा मरेका बेला ? लो खा तँलाई भनेर पड्काई दिइहाल्यो । ‘म के भनेर जानी त नि ?’ तँ रुँदैरुँदै जा कि नबोली जा हामीलाई के मतलब । हाम्रो कुरो तँ हाम्री आमा मरेको बेला हँस्न पाउँदैनस्’ भनेर गए । ससुराली नजिकै भएकाले उसले बाटाको धारामा मुख धोयो । अनि एकछिन् बसेर बाटो लाग्यो । ससुराली साँझमा पुग्यो ।
बेलुकी साँझको दियो बालिसक्दा जुवाइँ आइपुगेकाले सबै खुशी भए । खै खै जुवाइँ दर्शन गरौं भनेर ससुराले पाउ समातेरै ढोगी दिए । सासुभित्रबाट आएर जुवाइँ दर्शन गरौं भनेर कपालको धागाको चुल्ठो समातेर ढोगिदिइन् र भित्र गइन् । साला जेठान सबैले ढोगिदिए । साधुराम मक्ख परेर खाटमा बसिरहृयो । एकछिन् पछि जुवाइँ लौ भान्सामा पाल्नुस् भनेर लोहोटामा पानी ल्याएर मजेरीको डिलमा राखिदिए । ससुराले सोधे जुवाइँ धोती छ कि ल्याई दिऊँ’ भने । ‘छ पटुका बाँधेको छु यही बेरिन्छु ।’
हवोस् त हात गोडा धोएर पाल्नु होला । म सन्ध्या आरती गर्छु भनेर ससुरा पनि भित्र पसे । साधुराम पनि धोती बेरियो र हात गोडा धोएरभित्र पस्यो तर धोती बेरिन ढंग नपुग्दा बलैतलै फड्का सारेर चुल्हाको चौकीमा राखेको पिर्कामाथि बस्न लागेको अगाडि मुन्टियो । छोरालाई भात खुवाउँदै त्यतै हेरिरहेकी उसैको श्रीमतीले च्याप्पै समाई नत्र सासू आमालाई ढोग्न पुग्थ्यो । शोभाले भनी ‘धोती फेर्न नजानेर कछाड बाँध्यौ त्यो पनि फाका नराख्दा यस्तो भयो । तल आऊ भनेर खोपीमा लगेर कछाड फाका राखेर बेर्न लगाई दिइन् तब भन्छ ‘यस्तो त अघि नै गरिदेको भापो लड्दिनथेँ कि बाबै । ‘भो भो अब जानु ।’ ऊ पनि सजिलै चुल्हाको चौकीमा गएर बस्यो । सबैले बेलुकीको भातसात खाएर बाहिरको खाट पिँडीमा आएर बसे । साधुराम र ससुरा सँगसँगै बसे ।
ससुराले घर गृहस्थीका दुःखसुखका कुरा गर्नथाले । बात मार्दै जाँदा धेरै दुःखसुखका कुरा हुँदैगए । जुवाइँ सुनिरहे । मुन्टो हल्लाए । ‘बेसै भो’ भन्दै गए । अरू सुत्न गए । जुवाइँ ससुरामात्र थिए । ससुराले के गर्ने जुवाइँ यसपालि दसा लाग्ने वर्ष रहेछ हलको गोरु पनि मर्यो भने उसले ‘बेशै भो’ भन्यो । ससुराले सुने कि सुनेनन् कुन्नि । त्यतिमात्र होर जुवाइँ मसिना धान बिरिमफूल फल्ने खेत पनि खोलाले लग्यो । बेशै भो भनेर जुवाइँले भनेको ससुराले सुन्दा अचम्म लाग्यो । फेरि आफैँ डेढ महिना थला परेँ बल्ल एक महिना भो खरापानी लागेको भन्दा पनि उसले ‘बेशै भो’ भनेपछि जुवाइँ त के हो यस्तो ?
विपरीत विपरीत भन्ने लागेर यीसँग कुरा गर्नुभन्दा सुत्न बेश भन्नी ठानेर जुवाइँ थकाई लागेको होला रात पनि धेरै गयो अब सुतौँ भनेर जुवाइँलाई बिस्तारामा पुर्याएर आफू पनि सुत्न गए । सम्झे ‘मार मार हृया मार भनेको यही रहेछ, भनौँ भने के भनौँ जुवाइँ हुन् नाति पनि जन्मिसक्यो, नभनौँ भने यिनको चाला जय न विजय भइगो मेरी छोरीको भाग्य यस्तै रहेछ तर सबै कुरा ठीक छ मात्र अध्बेस्रो भए आ भइगो जो भयो भयो, हाई मन पछुताई बेला बितेर गो अब खोजेर कहाँ पाइन्छ भन्दै कोल्टो फर्किएर सुते ।

युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका