दाङ । माघी पर्व नजिकिएसँगै यहाँका थारु बस्तीमा चहलपहल सुरु भएको छ । थारु जातिको सबैभन्दा ठूलो पर्वका रूपमा मानिने माघीको रौनकता छाएको हो ।
माघी पर्व आउनुभन्दा एक महिनाअघिदेखि विभिन्न तयारी गर्ने चलनअनुसार आजभोलि बस्तीका स्थानीयको व्यस्तता बढेको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्दछन् ।
यो पर्वका अवसरमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा रहेको घोराही उपमहानगरपालिका-७ सौडियारका विपना चौधरीले बताउनुभयो । उहाँका अनुसार अहिले थारु बस्तीमा नाचगान र खानपिनको तयारी भइरहेको छ ।
“माघीको तयारीका लागि वनबाट दाउरा, पात ल्याउने काम भइसक्यो । पातको दुनाटपरी गास्ने काम गरिरहेका छाैँ । ढिक्री, रोटी, जाँड पकाउन धान, चामल कुटाउने/पिसाउने काम सुरु भएको छ । खानाका परिकार बनाउनका लागि एक महिनाअघिदेखि तयारी गर्नुपर्दछ”, विपनाले भन्नुभयो, “ढिक्री, रोटी पकाउने, अनदीको विशेष झोल (जाँड) र भातलगायत विशेष मिठामिठा परिकारको तयारीमा जुटेका छौँ ।” पुस महिनामा तयारी गरेर माघे सङ्क्रान्तिका दिनदेखि चार-पाँच दिनसम्म माघी पर्व मनाउने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो ।
थारु समुदायले माघमा आफ्नो मुखिया, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेष रूपमा लिइँदै आइएको घोराही-६ का मदन चौधरीले बताउनुभयो । वर्षभरि गरेका कामको समीक्षा गर्ने र आगामी कामको योजना बनाउने पर्वका रूपमा माघीलाई लिने उहाँले जानकारी दिनुभयो ।
मदनले वर्षभरिको योजना माघमा बनाइने भएकाले पनि थारु समुदायका लागि यो पर्व महत्वपूर्ण रहेको बताउनुभयो । थारु समुदायमा पुरुषहरू घर बाहिरको तयारीमा लागेका भन्दै महिलाहरू खानपिनको सामग्री जुटाउन लागेका छन् । दाउर, पात, चामल, पिठो, दुनाटपरीजस्ता सामग्री महिलाले तयारी गरिरहेका उहाँले उल्लेख गर्नुभयो ।
थारु समुदायका पुरुषहरूले माघीको अघिल्लो दिन आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी वा खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगभेट गरी आर्शिवाद लिएर घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारु समुदायमा छ ।
खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ । यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइने गरिन्छ । “छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर (कोसेली)का रूपमा चेलीबेटीका घरमा पु¥याउने प्रचलन छ”, महतवा सङ्घका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले भन्नुभयो ।
माघीको अघिल्लो दिन बिहानै गाउँघरका किसान जम्मा भई बङ्गुर, सुँगुर (थारु भाषामा जिता मार्ना) मारेर बराबरी बाँड्ने चलन छ । घोङ्गी, गँगटा र माछाको विशेष परिकार बनाएर खाने गरिन्छ । माघीका अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । यो नाच शृङ्गार र करुण रसले भरिएको हुने घोराही-६ का रामचरण चौधरीले बताउनुभयो ।
“थारु समुदायमा माघ महिनालाई नयाँ वर्षका रूपमा लिने गरिन्छ, पुस मसान्तमा आ-आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने चलन छ, माघीमा परिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षका लागि खेतीपातीसहित अन्य व्यवहारको नवीकरण गरिन्छ”, रामचरणले भन्नुभयो । माघ नजिकिएसँगै नाचगान र खानपीनको तयारी भइरहेको छ ।
माघ महोत्सवको तयारी
थारु समुदायको सबैभन्दा ठूलो पर्व माघीका अवसरमा यही पुस २० गते घोराही उपमहानगरपालिका-६ र १७ को आयोजनामा एकदिने माघ महोत्सव हुने भएको छ ।
थारु भाषा, साहित्य तथा लोक कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयको आयोजनामा गत वर्षदेखि महोत्सव आयोजना गरिँदै आइएको महोत्सव मूल आयोजक समितिका संयोजक एवं घोराही-१७ का अध्यक्ष रामलौटन चौधरीले जानकारी दिनुभयो ।
महोत्सवको थप तयारी तथा व्यवस्थापनका लागि समाजसेवी तथा थारु अगुवा घोराही-१७ ओखरा निवासी मोहनलाल चौधरीको संयोजकत्वमा ३५ सदस्यीय उपसमिति, वीरेन्द्र चौधरीको संयोजकत्वमा २१ सदस्यीय मञ्च व्यवस्थापन समिति, गोपी चौधरीको संयोजकत्वमा ३५ सदस्यीय स्वयंसेवक उपसमिति र अतिथि सत्कारका लागि ओखरा टोल विकास संस्थालाई जिम्मेवारी दिने निर्णय भएको महोत्सव मूल आयोजक समितिका संयोजक चौधरीले जानकारी दिनुभयो ।
थारु समुदायको मौलिक कला, संस्कृति विकास गर्नमा थप सहयोग पुग्ने उद्देश्यले माघ महोत्सवको आयोजना हुन लागेको थारु कल्याण कारिणीसभा दाङका अध्यक्ष अशोक चौधरीले बताउनुभयो । थारु समुदायको संस्कार र संस्कृति बोकेको पर्वका अवसरमा यसको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले माघ महोत्सव गर्न लागिएको उहाँले उल्लेख गर्नुभयमो ।
महोत्सवमा थारु परिकार, थारु समुदायको हस्तकला, थारु संस्कृति झल्कने भाषा, वेशभूषालगायत सामग्री प्रदर्शनीमा राखिने थारु कल्याणकारी सभाका सहसचिव श्रीप्रसाद चौधरीले जानकारी दिनुभयो । उहाँले थारु समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारको सुनिश्चिताका लागि महोत्सवमा थारु समुदायको सशक्त उपस्थिति रहने विश्वास व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच